• १२ साउन २०८१, शनिबार

सरकारले प्रतिआश्रित नागरिकलाई १० हजार रुपियाँ दिने : प्रधानमन्त्री प्रचण्ड

blog

शनिबार हेटौँडामा मानवसेवा आश्रमको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

अनिल पराजुली

हेटौँडा, मङ्सिर ३० गते । सडकमानव उद्धार गरी पालनपोषण गर्ने तथा पारिवारिक रूपमा पुनर्मिलन गराउने उद्देश्यले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।

हेटौँडा ९ लामसुरेधापमा करिब १४ करोड रुपियाँको लागतमा निर्माण भएको आश्रमको भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड  ७ वटै प्रदेशका लागि सडकमानव उद्धार गर्न सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रधानमन्त्री प्रचण्डले आश्रममा आश्रित नागरिकलाई प्रतिव्यक्ति प्रतिमहिना १० हजार रुपियाँका दरले राज्यले नगद उपलब्ध गराउनको लागि व्यवस्थापनको जिम्मेवारी लिने बताउनुभयो । 

मानवता प्रवर्द्धनको पुण्य अभियानका लागि काम गर्ने संस्थाको कार्यक्रम भएकोले पनि आफू उपस्थित भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कठोर सङ्घर्षपछि नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण नेपालको संविधानले आमनेपाली जनतालाई सार्वभौम बनाएको बताउँदै शिक्षा, स्वास्थ्य रोजगारलाई मौलिक हकको रूपमा राखिएको बताउनुभयो ।

 

संविधानप्रदत्त अधिकार कार्यान्वयन हुने क्रममा नै रहेको अवस्थामा संविधानले दिएको काम मानवसेवा आश्रमले गरिहरेको भन्दै सरकारले मानवसेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयो ।

मानवसेवा आश्रमको कामले राज्यलाई पनि झकझकाउँदै तरङ्ग प्रदान गरेको उहाँको भनाई छ । प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमबाट भएको कामलाई बिस्तार गर्न सातवटै प्रदेशमा भवन निर्माण, उद्धारको लागि सवारी साधन व्यवस्थापन लगायतको कार्य सरकारले गर्ने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभयो । 


कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले खाना, नाना र छाना जुटाउन नसक्ने नागरिकको संरक्षक सरकार नै हो भन्ने महसुस गराउन आश्रम व्यवस्थापनको लागि प्रदेश सरकारले ४० लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री जम्कट्टेलले सरकारको ध्यान मानवसेवामा भएको प्रमाण नै प्रधानमन्त्री स्वयं यो कार्यक्रममा उपस्थित हुनुले जनाएको बताउनुभयो । 

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले राज्यको पनि सहभागितामा आश्रममार्फत सडकमानवमुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने बताउनुभयो ।


सरकारले आश्रमलाई ध्यान दिँदा बृद्धबृद्धा नागरिकको हेरचाह गर्न सहज हुने मन्त्री मोक्तानले बताउनुभयो । उहाँले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको सवाल जटिल बनेकोले कानुन निर्माण वा संशोधन गरी बाटो फुकाउनुपर्ने बताउनुभयो । 

बागमती प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी फैलने आशा व्यक्त गर्नुभयो । राजनीति गर्ने नेतृत्वले पनि मानवतावादी राजनीति गर्न बानियाँको आग्रह थियो । अब सबै मिलेर सडकमावनमुक्त राज्य निर्माणमा लाग्नुपर्ने बानियाँले जनाउनुभयो ।

हेटौँडा उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख राजेश बानियाँले हेटौँडाको पहिचानको रूपमा रहेको आश्रमले मानवताको प्रवर्द्धन गरेको बताउनुभयो । प्रमुख बानियाँले पालिकाले आश्रमको पवित्र अभियानलाई निरन्तर सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हेटौँडा बजारको २५ मिटर समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गर्दै प्रदेशको राजधानी सहरको समस्या हल गर्न आग्रह गर्नुभयो ।


मानवसेवा आश्रमको हेटौँडामा रहेको वन निर्मित भवन १३ करोड ८१ लाख ६६ हजार रुपियाँ लागतमामा निर्माण भएको हो आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

आश्रमले हालसम्म ९ हजार उनान्असी जनाको उद्धार गरेकोमा हाल हेटौँडामा १८ जना बालक ३ जना बालिका सहित २ सय चार जना मुख्यालयमा आश्रित रहनुभएको आश्रमले जनाएको छ । आश्रमको ७ प्रदेशका २४ स्थानमा शाखा स्थापना गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।