काठमाडौँ, मङ्सिर ३० गते । श्री शार्दूल जङ्ग गुल्म र काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको सहकार्यमा शुक्रबार हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजना अनुरूप गुल्मपति सेनानी पूर्ण प्रजापतिको उपस्थितिमा सो सौन्दर्यीकरण अभियानको प्रारम्भ भएको हो । २९ औँ महानगर दिवसको उपलक्ष्यमा थालिएको यस सौन्दर्यीकरण कार्यक्रममा श्री शार्दूल जङ्ग गुल्मका सैनिक जनशक्तिको उपयोग गरिने छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार परिसरमा अस्तव्यस्त सवारीसाधन पार्किङलाई व्यवस्थित बनाउन २०७७ सालमै शार्दूल जङ्ग गुल्मका तत्कालीन गुल्मपति विकास शाक्यको नेतृत्वमा यस क्षेत्रको सौन्दर्यीकरण अभियान सुरु भएको थियो ।
आगामी दिनमा सो क्षेत्रको सौन्दर्यीकरणका लागि मरु त्वा पुचः र श्री शार्दूल जङ्गले रेखदेख र व्यवस्था गरिने छ । शार्दूल जङ्ग गुल्मले गुर्जु पल्टनका साथै हाल धिमे बाजाका साथमा जात्रामा पनि सहभागी भएर परम्परा, संस्कृति र सम्पदाको अपनत्व लिँदै आएको छ ।