फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर ३० गते । आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थियो ।
योजना अनुसार मङ्सिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो । २०७२ सालको भूकम्पका कारण मन्दिर दक्षिणतर्फ तीन इन्च ढल्किएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्यास भयो । तर पुरातìव विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजनाका कारण अहिले निर्माणको कार्य रोकिएको छ ।
पुरानो मन्दिर भत्काएपछि अहिले नजिकैको हवनकुण्डमा पूजाआजा गरिँदै आएको छ । मूल मन्दिर नहुँदा तालबाराही पुग्ने धेरै तीर्थालु निराश हुने गरेका छन् । मन्दिर दर्शन गर्न आइपुगेकी मोरङकी शान्ता पराजुलीले हवनकुण्डमा पूजा गर्दा नमिठो लागेको सुनाउनुभयो । “भूकम्पमा क्षति भएको भन्ने सुनेँ । आठ वर्षमा पनि पुनर्निर्माण नसकिएको देख्दा मन अमिलो भयो,” उहाँले भन्नुभयो । मूल मन्दिर नहुँदा तालबाराही मन्दिर जानेहरू घटेका छन् । फेवातालमा अहिले सात सयभन्दा बढी डुङ्गा छन् ।
मन्दिर विक्रम संवत् १४४७ मा निर्माण भएको विभिन्न अभिलेखमा उल्लेख छ । भत्काइएको प्यागोडा शैलीको मन्दिर २०१७ सालमा निर्माण भएको थियो । व्यवस्थापन समितिले बनाएको गुरुयोजनामा मन्दिरको चार रोपनी क्षेत्रमा अन्डरग्राउन्डसहितको मुख्य मन्दिर बनाउने उल्लेख छ । सो अन्डरग्राउन्डमा फूलका पसल राख्ने योजना थियो । प्राडा भरतराज पहारी नेतृत्वको सात सदस्यीय टोलीले गुरुयोजना बनाएको थियो ।
पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले सो समितिले स्वीकृतिबिना अनुपयुक्त गुरुयोजना बनाएको बताउनुभयो । तालबाराही मन्दिर परम्परागत स्वरूपमै निर्माण गर्नुपर्ने विभागले प्रस्ट पारेको छ । “शिलान्यासमा जाँदा परम्परागत ढाँचामा ठुलो परिवर्तन हुने देखिएपछि हामीले काम रोक्न निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो । पुनर्निर्माण सकिनुपर्ने समयसम्म कामै सुरु नभएको मन्दिरको निर्माण अब सुरु हुने समितिका अध्यक्ष हिम्मतबहादुर कुँवरले बताउनुभयो ।
समितिको गुरुयोजना अनुरूपका काम रोकी पुरानै स्वरूपमा मङ्सिरभित्रै निर्माण थालिने उहाँको भनाइ छ ।
मन्दिर पुरानो शैलीमा निर्माणका लागि गत वर्ष एक करोड ४४ लाख रुपियाँको लागत अनुमान गरिएको थियो । अब सोही लागत अनुसार मन्दिर निर्माण गरिने भएको छ । अब प्राविधिक टोली र पुरातìवका इन्जिनियरसँग समन्वय गरी काम गरिने बताउनुभयो । पुरातìवले मन्दिरभित्र केही परिवर्तन गरे पनि बाहिर पहिलाकै मन्दिरको जस्तो संरचना बनाउन भनेको छ । मन्दिरका झ्याल, ढोका, टुँडाल, मूर्तिहरू पहिलाका जस्तै राखिने समितिले जनाएको छ ।
मन्दिर पुनर्निर्माणका लागि समितिले अहिले चन्दा उठाइरहेको छ । मन्दिरको भेटी, दान, दक्षिणा सबै पुजारीले नै लैजाने गरेका छन् । मन्दिर सञ्चालनका लागि रहेको राजगुठीको सेदीको करिब २४ रोपनी जग्गा पुजारीले बाँडेर उपभोग गरिरहेका छन् । यस्तै पोखरा महानगरपालिका–१८ मा रहेको अर्काे ७१ रोपनी जग्गा चार परिवारले उपभोग गरिरहेका छन् ।
पोखरा महानगरपालिका–५ मा रहेको १८ रोपनी नौ आना जग्गामध्ये आधाभन्दा बढी व्यक्तिको नाममा दर्ता भएको देखिएको र ११ आना मन्दिरको नाममा आएको व्यवस्थापन समितिका अध्यक्ष कुँवरले जानकारी दिनुभयो । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति अध्यक्ष सुनील पाण्डेले मन्दिरको भेटी, जग्गाको सदुपयोग गर्नुपर्ने र चाँडै मन्दिर निर्माण थाल्ने बताउनुभयो ।
“मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता भएको, भेटी सबै पुजारीले लैजाने र पुनर्निर्माणका लागि चन्दा माग्ने अवस्था देखिएको छ । भेटी व्यवस्थापन निर्देशिका अनुसार काम गर्नु जरुरी छ,” उहाँले भन्नुभयो ।