काठमाडौं, मङ्सिर २९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आयाजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाललाई एजुकेसनल हब बनाउनसके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गर्नुभयो । उहाँले शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपरेको बताउनुभयो । उहाँले शिक्षा विधेयक अहिले सबै सरोकारवाला निकायसँग छलफल गरेर संसदीय समितिमा रहेको बताउनुभयो । उहाँले छिटो ल्याउनुपर्ने शिक्षा विधेयक ल्याउन ढिलाइ भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपाललाई एजुकेसनल हब बनाउन सकियो भने त यहीँ आउँछन् । गुणस्तरीय शिक्षा प्रदान गर्न सकियो भने विदेशी विद्यार्थी यहाँ नै आउँछन् । विद्यार्थी मात्रै होइन, कहिले काहीँ उनीहरुका अभिभावक पनि आउँछन् । त्यसले देशलाई माथि उठाउने काम गर्ला । यसतर्फ हाम्रो ध्यान जानुपर्छ । शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा कसैले खप्नु नपरोस् । बढो मुस्किलले अहिले संसदीय समितिसम्म लैजाने काम भएको छ । सबै स्टेक होल्डरसँग कुराकानी गरेर अघि बढाइरहेको अवस्था छ । शिक्षक साथीसँग पनि यसमा संवाद भयो । अरु स्टेक होल्डरसँग पनि छलफल भयो । अघि बढाउने काम भएको छ । जुन मुलुकको शिक्षा विधेयक ल्याउन यति गाह्रो भइरहेको छ । हामीले छिटो भन्दा छिटो ल्याउनुपर्ने कुरा थियो । यो यति लामो प्रसव पीडामा भयो ।’
कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले प्याब्सनको एकमात्रै ध्येय नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताउनुभयो । उहाँले सवा लाख विद्यार्थी विदेश जाने नभइ सवा लाख विद्यार्थी नेपाल भित्र्याउने ध्येय प्याब्सनको रहेको बताउनुभयो ।
अध्यक्ष ढुंगानाले निजी विद्यालयलाई पनि सरकारले नीतिमा सहजता र सरलता, कक्षा कोठा, भौतिक पूर्वाधार विकासका लागि चाहिने सहयोगमा सामुदायिक विद्यालयझैँ गरी अघि बढाउन कसरी सक्छ भन्ने बारेमा छलफल गर्ने बताउनुभयो ।