अर्जुन काफ्ले
स्याङ्जा, मङसिर २९ गते । सामान्य सहयोग कसैको लागि अमूल्य योगदान बन्दछ र सहयोग गर्ने व्यक्ति महान् हुन पुग्छन् । गह्रौ प्राथमिक अस्पताल वालिङमा बिहीबार वडा प्रहरी कार्यालय वालिङका डिएसपी इकबाल हबारीको सहयोग त्यस्तै प्रमाणित भएको छ ।
पैँयु गाउँपालिकाकी १९ वर्षीया अन्जली परियारलाई प्रसव पीडा भएपछि बुधबार बिहान गह्रौ प्राथमिक अस्पताल वालिङ ल्याइएको थियो । उहाँको नर्मल डेलिभरी भयो । डेलिभरी नर्मल भएको परियारलाई बिहीबार उच्च रक्तस्राव भयो र ब्लड लेभल छ ग्राममा झरेपछि उहाँलाई रगत आवश्यक भयो ।
परियारको रगत ‘बी पोजेटिभ’ हो । त्यो समूहको रगत अस्तालमा र ब्लड बैंकमा नभेटिएपछि डिएसपीले रक्तदान गर्नुभयो । अस्पतालका स्वास्थ्यकर्मीले प्रहरी युनिटमा खबर गर्दा एकै पटकमा धेरैसँग सम्पर्क हुन पुग्ने भएकाले वडा प्रहरी कार्यालय वालिङमा फोन गरेको जनाएको छ ।
ल्याब असिस्टेन्ट ईश्वर कोइरालाले हबारीले रगत दिएपछि परियारको जीवन सहज भएको र दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । अहिले गह्रौ प्राथमिक अस्पतालमा दैनिक पाँच–छ जनको डेलिभरी हुने गरेको कोइरालाको भनाइ थियो ।
भदौ यता गह्रौ प्राथमिक अस्पतालमा रगत सङ्कलन केन्द्रबाट ९० पोका रगत खपत भएको छ । अपरेसनमार्फत सुत्केरी सेवा, रगत सङ्कलन केन्द्र र दक्ष जनशक्तिका कारण पछिल्लो समयमा यो अस्पतालले छिमेकी जिल्ला पर्वत र पाल्पाका बिरामीलाई पनि सहज बनाएको छ ।