काठमाडौँ, मङ्सिर २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री र सचिवहरूलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित सरकारको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई परिवर्तनको आभास हुने गरी काम गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा राम्रा काम भए पनि अझै नतिजा देखिने गरी काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिनुभयो ।
“बजेट आएको यो चार महिनामा हामीले राम्रै काम गरेका छौँ । यो गति अझ बढ्ने गरी काम गर्ने होला,” प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै उहाँले भन्नुभयो, “काम गर्ने सिलसिलामा कुनै अवरोध आए म आफ्नातर्फबाट गाँठो फुकाउन तयार छु ।” प्रधानमन्त्रीलाई मन्त्री र सचिवले काम गर्ने क्रममा भोगेका समस्याबारे जानकारी गराएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. गणेश पाण्डेले सबै मन्त्रालयको एकमुस्ट रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चार महिनाको अवधिमा योजनाबमोजिम काम भए कि भएनन् भन्नेबारेमा छलफल भएको बताउनुभयो । “अहिले चार महिनाको अवधिमा के कति प्रगति भयो ? हामीले गरेका प्रतिबद्धता पूरा गर्न नीतिगत, कानुनी र समन्वयात्मक कहाँ के समस्या भए भन्नेबारेमा समीक्षा भयो,” उहाँले भन्नुभयो । उहाँका अनुसार अब कसरी अगाडि बढ्ने र सरकारको लक्ष्य पूरा गर्न के के गर्नुपर्छ भन्नेबारे सुझाव पनि सङ्कलन भएका छन् । उहाँले आगामी दिन सरकारका चुनौती कसरी सम्बोधन गरेर जाने भन्नेबारे सबैले धारणा राखेको बताउनुभयो ।
उहाँले मन्त्रालयका तर्फबाट थुप्रै नीति सुधार गर्नुपर्ने कुरा प्रधानमन्त्रीसमक्ष राखेको जानकारी दिनुभयो । “हाम्रो सार्वजनिक खरिदसम्बन्धी कानुन विकासमैत्री छैन । सरकार र निकायबिच सहज समन्वयको अभाव छ । त्यसमा प्रधानमन्त्रीले नेतृत्व गर्नुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो, “आयोजना पूरा गर्न बजेट सुनिश्चित गर्ने र विकासमैत्री कानुन बनाउनु पर्ने छ । यसो भएमा अपेक्षित उपलब्धि हासिल गर्न सहज हुन सक्छ ।”
यसै सन्दर्भमा प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सेनाले चालु आर्थिक वर्षको बजेटमा केन्द्रित भई चौमासिक समीक्षा भएको बताउनुभयो । बैठकमा सरकारका कामकारबाहीका विषयमा विभिन्न क्षेत्रको अवस्थाबारे गम्भीर छलफल भएको जानकारी दिँदै उहाँले यसरी नियमित छलफल गर्ने गरी बैठक सकिएको बताउनुभयो ।