• २० असोज २०८१, आइतबार

पेस्तोल देखाएर लुटियो पाँच लाख

blog

फाइल तस्विर ।

जनार्जन खत्री

सर्लाही, मङ्सिर २८ गते । सर्लाहीको हरिपूर्वामा बिहीबार बिहान अज्ञात व्यक्तिले हतियार देखाएर सहकारीका कर्मचारीको साथमा भएको पाँच लाख रुपियाँ लुटेका छन्। जिल्लाको दक्षिण-पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–६, हनुमान चोकस्थित महाजनको पोखरी नजिक बिहीबार बिहान ११ः३० बजेतिर लुटपाट भएको हो । 

हरिपूर्वा बजारमा रहेको एनआईसी एसिया बैङ्कको शाखाबाट पाँच लाख रुपियाँ निकालेर जयगङ्गा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र वसन्तपुरतर्फ लिएर आउँदै गर्दा हतियारधारी व्यक्तिले रकम लुटेका हुन् । 

वसन्तपुर सेवा केन्द्रका प्रमुख रामनाथ राय र कर्मचारी निरा राय ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा पैसा लिएर हरिपूर्वाबाट वसन्तपुरतर्फ आउँदै गर्दा अज्ञात व्यक्तिले हतियार देखाएर लुटपाट गरेका सहकारीका अध्यक्ष गणेश यादवले जानकारी दिनुभयो । तत्कालै वरिपरिका मानिसले दौडिएर नियन्त्रणमा लिन खोज्दा दुई जना हतियारधारी व्यक्ति पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्दै फरार भएका प्रत्यक्षदर्शीले बताएका छन् । 

मुखमा कालो मास्क लगाएर हिँडेका लुटेरा सवार अपाचे मोटरसाइकलको नम्बर प्लेटमा माटोले पोतिएको थियो । सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्नहरूको खोजी तीव्र पारिएको जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटाइएको र सीमा नाकाहरूमा कडाइका साथ चेकजाँच भइरहेको डिएसपी थारुले बताउनुभयो । उहाँका अनुसार घटनाका सम्बन्धमा वरिपरिका स्थानीय र लुटिएका कर्मचारीसँग सोधपुछ भइरहेको छ । 

हरिपूर्वा बजार क्षेत्र र सडक छेउछाउमा सिसी क्यामेरा नरहेकाले प्रहरीलाई लुटेराको खोजी तथा पहिचानमा समस्या परेको छ ।