• १२ मंसिर २०८१, बुधबार

बेनी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

blog

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर २८ गते ।
 म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न तीन सय ७८ इभेन्टमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेतालाई ५१ हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा  पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ४० हजार र ३० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा चार विद्यालयले सहभागिता जनाएका छन् । कबड्डी खेलमा छात्र र छात्रा तर्फ ६/६ विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी एथलेटिक्सतर्फ २५ र कँरातेमा चार विद्यालयले सहभागिता जनाएका छन् । तेक्वान्दो खेलमा छात्रतर्फ १० र छात्रा चार विद्यालय , उस्सु खेलमा छात्रातर्फ पाँच र छात्रतर्फ चार विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले खेलकुदले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकास गराउनुको साथै लुकेर रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बेनीको खुलामञ्चलाई स्तरीय रङ्गशालाको रूपमा विकास गर्न तीन तहकै सरकारबिचमा सहकार्य गरी प्राथमिकतामा राख्न आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य नवराज शर्मा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले हरेक वर्ष आयोजना हुने विद्यालय स्तरका प्रतियोगिताहरूले खेलाडीहरूको प्रतिभा पहिचान गरी क्षेत्रीय र राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोगी भूमिका खेलेकामा जोड दिनुभयो ।

नगरपालिकाका प्रमुख सुरत केसीले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन आवश्यक तयारीका साथ खेलकुद प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा धेरैभन्दा धेरै विद्यालयलाई सहभागी गराउने गरी नगरपालिकाले प्रतियोगिता सञ्चालन गराउने प्रयास गरेको बताउनुभयो । नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खेलकुद गतिविधिमा भलिबलतर्फ छात्रहरूको तुलनामा छात्राहरूमा न्यून विद्यालयले सहभागिता जनाएको बताउँदै विद्यालयहरूले छात्र र छात्राहरूलाई समान अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद प्रतियोगिताले खेल क्षमताको पहिचान र विद्यार्थीहरूलाई अनुशासित बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रम पूर्व विद्यार्थीहरूले बजारमा बाजागाजासहित र्‍याली निकालेका थिए ।