• १२ मंसिर २०८१, बुधबार

बाँकेमा शिशु मृत्यु दर उच्च

blog

नेपालगन्जमा पश्चिम नेपालकै रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पताल । तस्विर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, मङ्सिर २८ गते । पश्चिम नेपालकै स्वास्थ्य हब मानिने ठुलाठुला अत्याधुनिक सरकारी र गैर सरकारी अस्पतालहरू रहेको बाँकेमा मातृ मृत्युदर उच्च हुनुका साथसाथै नवजात शिशुको मृत्यु दर पनि उच्च छ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९–८० मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा १४२ जना नवजात शिशुको मृत्यु भएको थियो । उहाँले सो क्रममा नेपालगन्जमा ९७ जना, कोहलपुरमा ३३ जना, नरैनापुर र डुडुवा गाउँपालिकामा ४–४ जना, खजुरा र राप्तीसोनारी गाउँपालिकामा २–२ जनाको मृत्यु भएको पाइएको बताउनुभयो । 

सूचना अधिकारी श्रेष्ठले गत आर्थिक वर्षमा १४२ जना शिशुको मृत्यु भएपनि त्यसको अघिल्लो आर्थिक वर्षमा भने २५० जनाको मृत्यु भएको तथ्याङ्क रहेको बताउनुभयो । 

उहाँका अनुसार आर्थिक वर्ष २०७८–७९ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी बाँकेमा २५० जना नवजात शिशुको मृत्यु भएको थियो । त्यस वर्ष नेपालगन्जमा १६० जना, कोहलपुरमा ६२ जना, राप्तीसोनारीमा ९ जना, जानकी गाउँपालिकामा ७ जना, बैजनाथ र खजुरा गाउँपालिकामा ५–५ जना र नरैनापुरमा २ जना शिशुको मृत्यु भएको थियो । 

स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–७८ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी २३७ जना नवजात शिशुको बाँकेमा मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा नेपालगन्जमा १२७ जना, कोहलपुरमा ७० जना, डुडुवामा ११ जना, नरैनापुरमा १० जना, राप्तीसोनारीमा ६ जना, बैजनाथमा ५ जना, खजुरा र जानकी गाउँपालिकामा ४–४ जना थिए । 

बाहिरी जिल्लाका बिरामीलाई नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराउन ल्याउने भएको र ती मध्ये अधिकांश निकै सिरियस अवस्थामा पुगेपछि मात्रै ल्याइने गरेकोले यहाँ नै बढी मृत्यु देखिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँले नेपालगन्जमा पश्चिम नेपालका विभिन्न जिल्लामा उपचार हुन नसकेपछि अति नै गम्भीर अवस्थामा पुगेपछि मात्रै बिरामीलाई ल्याइने गरेकोलेनै अधिकांशको मृत्यु हुने गरेको बताउनुभयो । 

नेपालगन्ज पश्चिम नेपालको स्वास्थ्यको केन्द्र विन्दु मानिने र यहाँ आधा दर्जन बढी ठुला अत्याधुनिक अस्पताल रहेपनि यति धेरै सङ्ख्यामा शिशुको मृत्यु हुनु चिन्ताको विषय बनेको छ । पश्चिम नेपालका २४ जिल्लाका मानिसको उपचारको थलो नै नेपालगन्ज भएकोले यहाँ बिरामीलाई ल्याउनु स्वाभाविक भएपनि यति धेरैको मृत्यु हुनु भने चिन्ताको विषय भएको सामाजिक अभियन्ता हेमन्तराज काफ्लेको भनाइ छ । 

नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज र कोहलपुरको मेडिकल कलेज पश्चिम नेपालका बिरामीको रिफरल सेन्टरको रूपमा छन् ।