ललित बसेल
आठबिसकोट, (रुकुमपश्चिम), मङ्सिर २८ गते । भूकम्पबाट प्रभावित रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ का ठुलीबार्कुका दृष्टिविहीन खगेन्द्र कामीको घर बस्नै नमिल्ने गरी भूकम्पले चर्किएको छ । भूकम्पपछि त्रिपालमा बस्दै आएका कामीले त्रिपाल र चामल राहत सहयोग पाए पनि जाडो छल्न आगो ताप्दै आउनुभएको छ । सोही वडाका विर्सना पुनमगरलाई पनि हिउँदको जाडोले ज्यानै जान्छ कि भन्ने चिन्ता छ । अस्थायी टहरामा बसेका विर्सनालाई जाडो रात कटाउने चिन्ता हुन्छ ।
आठबिसकोट नगरपालिका–१२ मा ९५० घरधुरी छन्। सो वडामा भूकम्पबाट घर भत्केर तीन जनाको मृत्यु भएको थियो । भूकम्पले भौतिक संरचनाको क्षति बढी नै भएको छ । सरकारी तथा विभिन्न सहयोगी संस्थाले त्रिपाल र खाद्यान्न उपलब्ध गराए पनि रातको जाडो कटाउन न्यानो कपडाको अभाव रहेको छ । आइएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतले सो वडामा न्यानो कपडा प्रदान गरेको जनाइएको छ ।
पाँच जनाको परिवारसम्मलाई एक सेट र छ जनाभन्दा माथिको परिवारलाई दुई सेट न्यानो कपडा वितरण गरेको बताइन्छ। सो वडामा २६० घरपरिवारलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य भए पनि ४५० भन्दा बढी परिवारले कम्तीमा एक/एक सेट न्यानो कपडा वितरण गरिएको आइएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतका विपत् परियोजना संयोजक शुक्र विकले जानकारी दिनुभयो ।
दृष्टिविहीन खगेन्द्र कामीले भूकम्पपछि पहिलो पटक न्यानो कपडा पाएको बताउनुभयो। कम्मे कुसारीले पुस माघमा अझ बढी जाडो हुने भएकाले सरकारी तथा गैरसरकारी संस्थाबाट न्यानो कपडा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । उहाँले भूकम्पबाट बचे पनि न्यानो कपडाको अभावमा जाडोबाटै मर्ने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो । आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले प्राथमिकताका आधारमा प्रभावितलाई खाद्यान्नलगायत न्यानो कपडा उपलब्ध गराइएको बताउनुभयो । आइएनएफ नेपाल साइनिङ अस्पतालका कुष्ठरोग इन्चार्ज उदयनाथ योगीका अनुसार अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच गरिएको छ ।
छिन्चु समाचारदाताका अनुसार नेपाल प्रहरी श्रीमती सङ्घले जाजरकोट भूकम्पबाट पीडितलाई राहत वितरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरलगायत समितिका पदाधिकारीले जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लामा पुगेर राहत वितरण गरिएको हो । जाजरकोटको भेरी नगरपालिका–१, राउतगाउँका १२७ घरपरिवारलाई झोला, कापी कलम, थर्मस, ब्ल्याङ्केट, मोजा, ट्राउजर, मन्डी, टोपी स्विटरलगायत सामग्री वितरण गरिएको बताइन्छ । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४, छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको जनाइएको छ ।
हुम्ला समाचारदाताका अनुसार खार्पुनाथ गाउँपालिकाले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । कार्यपालिकाको बैठकले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जाजरकोट भूकम्पपीडितका लागि तीन लाख रुपियाँ सहयोग गर्ने निर्णय कार्यपालिकाले गरेको जानकारी दिनुभयो । सो सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ ।