• १६ असार २०८१, आइतबार

राजदूतबाट कुलो उद्घाटन

blog

पशुपतिनगर समाचारदाता

पशुपतिनगर, मङ्सिर २८ गते । स्विस सरकारको साना सिँचाइ आयोजना अन्तर्गत सङ्घ, प्रदेश, स्थानीय सरकार र उपभोक्ता समितिको लागत साझेदारीमा सम्पन्न कुलोको नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनियल म्युली र सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । 

एक हजार ७०४ मिटर कुलो स्विस सरकारको ३० प्रतिशत, सङ्घको २० प्रतिशत, प्रदेशको २० प्रतिशत, स्थानीय सरकारको २० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत सहभागिता गरी ६४ लाख ६७ हजार २०८ रुपियाँको लागतमा कुलो निर्माण गरिएको छ । उक्त कुलोले केराबारीका ५७ परिवारलाई सिँचाइ सुविधा पुग्ने छ । 

स्थानीय जल उपभोक्ता समितिका पदाधिकारीसहितको सहभागितामा कुलो उद्घाटन गर्दै राजदूत डेनियल म्युलीले कुलो निर्माण गरेर मात्र नहुने भन्दै दिगोपना र स्थानीयको अपनत्व हुनुपर्ने बताउनुभयो । उहाँले समयमा मर्मतसम्भार गर्न स्थानीय उपभोक्ता लाग्नुपर्नेमा जोड दिनुभयो । 

नगर प्रमुख राणबहादुर राईले कुलोले उत्पादन वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले दिगो विकासको लक्ष्य पूरा गर्नका साना सिँचाइ आयोजनाले निर्माण गरिरहेका सिँचाइ आयोजनाले सहयोग पुग्ने बताउनुभयो । 

जल उपभोक्ता समितिका सचिव प्रकाश राईले कुलो सञ्चालन भएपछि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत म्युलीसहितको टिमले केराबारीको उक्त कुलो र कुलो निर्माणपछि गरिएको गोलभेँडा खेतीको निरीक्षण गर्नुभयो । 

साना सिँचाइ आयोजना अन्तर्गत सूर्योदय नगरपालिकामा नौ वटा आयोजना निर्माणको व्रmममा रहेका छन् । आयोजनाका फिक्कल क्लस्टर संयोजक केशव लामाले सूर्योदयमा १७ वटा आयोजनाको काम सम्पन्न भइसकेको बताउनुभयो । सूर्योदयमा ११ करोड ७४ लाख २५ हजार ९६४ रुपियाँको लागतमा २५ हेक्टरमा सिँचाइ सुविधा पुग्ने गरी कुलो निर्माणको काम भइरहेको लामाले जानकारी दिनुभयो । 

एक हजार एक सय दुई घरपरिवारलाई कुलो निर्माण सम्पन्न भएपछि फाइदा पुग्ने छ । फिक्कल कलस्टर अन्तर्गत इलाम र पाँचथरमा २२३ वटा आयोजना निर्माणको व्रmममा छन् । १८८ वटा आयोजना निर्माणको काम सम्पन्न भइसकेको संयोजक लामाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा ६६ करोड ९३ लाख १९ हजार रुपियाँको लागतमा आयोजना निर्माणको काम भइरहेको छ ।