सर्लाही समाचारदाता
सर्लाही, मङ्सिर २८ गते। सर्लाहीको सदरमुकाम मलङ्गवामा यही मङ्सिर १७ गते उद्घाटन भएको यातायात व्यवस्था कार्यालयले बुधबारदेखि सेवाग्राहीलाई सेवा प्रदानगर्न सुरु गरेको छ ।
कार्यालयले तत्कालका लागि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण, जाँचपास नवीकरण, नयाँ सवारीको दर्ता, नयाँ रुट परमिट दर्ता, वर्कसप दर्ता र ड्राइभिङ प्रशिक्षण केन्द्र दर्तासम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय प्रमुख राकेश यादवले बताउनुभयो ।
कार्यालय नयाँ रहेको र सफ्टवेयर पनि नयाँ रहेकाले ब्लुबुक नवीकरणको सेवा प्रदान गर्न भने केही समय लाग्ने उहाँले बताउनुभएको छ । यादवका अनुसार बुधबार पहिलो दिन सफ्टवेयरको
परीक्षणका लागि एक जना सेवाग्राहीको मात्रै लाइसेन्स नवीकरण गर्न खोज्दा सफ्टवेयरले सफलतापूर्वक काम गरेपछि १० जना सेवाग्राहीको लाइसेन्स नवीकरण गरिएको छ ।
कार्यालयले पहिलो सेवाग्राहीका रूपमा बलरा नगरपालिका–४ निवासी अशोककुमार सिंहको सवारीचालक अनुमतिपत्र नवीकरण गरेको छ । जिल्लामै यातायात कार्यालयको सेवा पाएसँगै स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका कोषाध्यक्ष एवं सर्लाही शाखाका पूर्वअध्यक्ष विश्वनाथ ठाकुरले जिल्लामै यो सेवा पाउँदा सहज र सरल महसुस गरेको बताउनुभयो । सर्लाहीका स्थानीयले यसअघि बर्दीबास, जनकपुर, वीरगन्जलगायत ठाउँका यातायात व्यवस्था कार्यालयमा गएर सेवा लिने गरेका थिए ।
कार्यालयले निकट भविष्यमा यहीँबाट सवारीचालक अनुमतिपत्रसमेत प्रदान गर्ने जनाएको छ । कार्यालयसँग तत्काल आफ्नै ड्राइभिङ सेन्टर नरहेकाले निजी ड्राइभिङ सेन्टर भाडामा लिएर भए पनि सवारीचालक अनुमतिपत्र जारी गर्ने कार्यालय प्रमुख यादवको भनाइ छ ।