सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, मङ्सिर २८ गते । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ ।सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य र सम्बन्धविच्छेदलगायतका घटनाले नागरिकता बनाउनेको भिड बढेको कार्यालयले जनाएको छ । कार्यालयले नागरिकता बनाउन चार ठाउँमा व्यवस्था गरे पनि भ्याइनभ्याइ भएको कर्मचारीको गुनासो छ ।
कार्यालयका अनुसार नागरिकता बनाउन दसैँतिहारको बिचमा हुने सेवाग्राहीको भिड मङ्सिर महिना सकिन लाग्दा पनि उस्तै छ । सेवाग्राहीलाई सहज सुविधा दिन अन्य फाँटका कर्मचारीलाई पनि नागरिकता फाँटमा काम गर्न लगाइएको छ । दैनिक २५० वटासम्म नागरिकता वितरण हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनु र सम्बन्धविच्छेदलगायत घटनाका कारण नागरिकता बनाउने सेवाग्राहीको चाप बढेको आफूले बुझेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकताको फोटो धमिलो भएको र स्टिकर नभएको भयो भने स्क्यानरले लिँदैन । त्यस्ता अलि झुत्रो भएको नागरिकता भएका सेवाग्राहीलाई अर्को प्रतिलिपि नागरिकता लिन सुझाव दिन्छौँ । त्यस्ता सेवाग्राहीले लिँदा पनि नागरिकता बनाउनेको भिड बढेको हो ।”
सम्बन्धविच्छेद भई पतिको नाम हटाउने र थप्नाले पनि काम थपिएको उहाँको भनाइ छ । “सम्बन्धविच्छेद भएका सेवाग्राहीको पतिको नाम नागरिकताबाट हटाउनु प¥यो र माइतीको थर थप्नु प-यो । त्यस्ता सेवाग्राही दैनिक चार÷पाँच जना नै आउँछन्,” प्रजिअ नेपालले थप्नुभयो ।
सम्बन्धविच्छेदका घटना बढ्दै जाँदा यो समस्या आएको उहाँको भनाइ छ । प्रजिअ नेपालका अनुसार कार्यालयमा २२ जनाको दरबन्दी रहेकोमा प्रशासकीय अधिकृत एक, नायब सुब्बा एक, खरिदार दुई र कम्प्युटर अपरेटर एक गरी पाँच जना कर्मचारीको दरबन्दी खाली छ । राहदानी बनाउने परराष्ट्र मन्त्रालयले गर्ने काम पनि जिल्ला प्रशासन कार्यालयमा थपिँदा कामको बोझ थपिएको छ । “राहदानी बनाउने काम जिल्ला प्रशासन कार्यालयमा थपियो तर कामसँगै जनशक्ति नथपिँदा समस्या भएको छ,” प्रजिअ नेपालले थप्नुभयो ।
राहदानी बनाउने फाँटमा जिल्लाका नौ वटै स्थानीय तहले मिलेर तलब खुवाउने गरी सहयोग गरेका तीन जना कर्मचारीलाई काममा लगाएको उहाँले जानकारी दिनुभयो ।