• ४ असार २०८१, मङ्गलबार

मोतीपुर औद्योगिक क्षेत्र निर्माण हुने

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर २८ गते  । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने बताउनुभएको छ ।

उहाँले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सीमाङ्कन गरी एकै पटक काम अगाडि बढाउन नसकिने भएकाले विकल्पमा रहेको कम विवादित २७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाएको बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्रभित्र स्थानीय बासिन्दाको समेत जग्गा परेपछि विवादका कारण निर्माणको काम रोकिएको थियो ।

रुपन्देही उद्योग सङ्घले आइतबार बुटवलमा अयोजना गरेको मोतीपुर औद्योगिक क्षेत्रको निर्माण र सेज सञ्चालनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले आफू नेतृत्वमा आएसँगै मोतीपुर औद्योगिक क्षेत्रको निर्माण, बन्द बुटवल धागो कारखाना सञ्चालन एवं जग्गाको प्रयोग तथा सेज र औद्योगिक क्षेत्रबिच मर्जरको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

सरकारले सञ्चालनमा ल्याएका सेज सञ्चालनमा कठिनाइ देखिएको हुँदा त्यसलाई औद्योगिक क्षेत्रसँग मर्जको प्रस्ताव अगाडि बढाएको र सेजमा देखिएका समस्या समाधान गरी उद्योगमैत्री वतावरण निर्माण गर्नेतर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अगाडि बढेको अध्यक्ष पन्तले जानकारी गराउनुभयो । 

आफू उद्योगीसमेत भएका कारण उद्योगीको समस्यालाई छाडेर कुनै काम अगाडि नबढाउने प्रतिबद्धता जनाउँदै पन्तले उद्योगीका सुझाव र आवश्यकता अनुसार औद्योगिक विकासमा लाग्ने बताउनुभयो ।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले मोतीपुर औद्योगिक क्षेत्रको निर्माणमा देखिएको अवरोध हटाएर निर्माणलाई प्राथमिकता दिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग अनुरोध गर्नुभयो । उहाँले बु्टवल धागो कारखानाको व्यवस्थापन र भैरहवास्थित सेज सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो । 

अन्तर्क्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका थिए । उनीहरूले मोतीपुर औद्योगिक क्षेत्रको निर्माण कार्य तत्काल अगाडि बढाउन र बन्द धागो कारखानाले उपभोग गरिरहेको जग्गा एवं भवनको सदुपयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरेका थिए । 

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका लुम्बिनी प्रदेश अध्यक्ष एवं रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष एजाज आलमले मोतीपुर औद्योगिक क्षेत्रमा देखिएका समस्या एकै पटक समाधान हुन सक्ने अवस्था नभएका कारण सहज रहेको क्षेत्रबाट निर्माणको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।