• २१ जेठ २०८१, सोमबार

तरकारी बिक्री गर्न बिहानै नेपालगन्ज पुग्छन् थारू महिला

blog

सिराज खान 

नेपालगन्ज, मङ्सिर २८ गते । गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगन्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एकाबिहानै तरकारी लिएर नेपालगन्ज पुग्ने गरेका छन् । 

अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न थालेका हुन् । 

नेपालगन्ज ल्याइएको अर्गानिक तरकारी तत्कालनै बिक्री भई राम्रो आम्दानी हुने देखेर तरकारी उत्पादनतर्फ अधिकांश थारू महिला आकर्षित भइरहेको बाँके खजुरा–४ की रामदुलारी थारूले बताउनुभयो । उहाँले आफ्नो खेतबारीमा विभिन्न अर्गानिक तरकारी उत्पादन गरी नेपालगन्जमा बिक्री गरेर मासिक १५ देखि २० हजार रुपियाँसम्म आम्दानी गरिरहेको बताउनुभयो । 

यस्तै बाँकेको नौबस्तामा आफ्नो घर वरिपरि तरकारी खेती गरिरहेकी वसन्ती थारूले त्यहाँ उत्पादन भएको तरकारी एकाबिहानै नेपालगन्ज ल्याएर बिक्री गरिरहेको बताउनुभयो । 

दिनदिनै बिहान ५ बजे नेपालगन्जको धम्बोझी चोकमा तरकारी लिएर पुग्ने गरेको जनाउँदै थारूले घरमा लगाइएको अर्गानिक तरकारी भएका कारण एकै छिनमा बिक्री हुने गरेको बताउनुभयो । एक दिनमा पाँच सयदेखि आठ सय रुपियाँसम्मको तरकारी सहज रूपमा बिक्री गरेको उहाँले बताउनुभयो । 

यस्तै कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ताजा कोबी, टमाटर र साग लिएर नेपालगन्जको पुष्पलाल चोकमा ओर्लनेबित्तिकै तरकारी बिक्री हुने गरेको बताउनुभयो । “आधा घण्टा पनि कुर्नु पर्दैन, सबै तरकारी हारालुछ हुन्छ, आम्दानी पनि सोचेभन्दा राम्रो हुने गरेको छ,” सुनिताले भन्नुभयो । बर्दिया बढैयाताल–३, सोरहवाकी धर्मी थारू र उहाँका पति जीवनलाल थारूले एक दिनमा हजार रुपियाँसम्मको तरकारी बेच्ने गरेको जनाउँदै यो वर्षदेखि आधा बिघा थप गरेर एक बिघामा तरकारी लगाउने योजना रहेको बताउनुभयो ।