• १३ जेठ २०८१, आइतबार

शिक्षण पेशासँगै कृषिमा जम्दै न्यौपाने

blog

जिल्ला समन्वय प्रमुखसहितको टोलीले फर्मको निरीक्षण गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २७ गते । कालीगण्डकी गाउँपालिका –२ अर्वेनीका लक्ष्मीपति न्यौपाने पेशाले शिक्षक हुनुहुन्छ । उहाँले कालीगण्डकी –१ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहततर्फ अध्यापन गर्दै आउनुभएको छ । 

शिक्षण पेशाको साथमा उहाँले कृषि पेशाबाट लोभलाग्दो काम गर्दै आउनुभएको छ ।  खानेमुखलाई जुङ्गाले छेक्दैन भनेजस्तै कृषि पेशाबाटै उहाँले वार्षिक २० लाख रुपियाँसम्म आम्दामी गर्दैआएको बताउनुभयो । न्यौपानेले २०७१ सालमा दुर्गादेबी मत्स्यपालन तथा तरकारी कृषि फर्म दर्ता गर्नुभएको छ । 

उहाँले १४ रोपनी जग्गामा ताजा तरकारी, काउली, सिमी, अकरे खुर्सानी लगाउनुभएको छ । यसका साथै १३ रोपनी जग्गा लिजमा लिइ लगाएका ६५० वटा किवीका बिरुवाले उत्पादन दिन थालेका छन् । यस्तै, केही जग्गा लिजमा र आफ्नै गरी करिब ६० रोपनी जग्गामा एक हजार बढी सुन्तलाका बिरुवा छन् । करिब पाँच सय बिरुवाले राम्रो उत्पादन दिएको न्यौपानेले बताउनुभयो । 

बिहान साँझ र बिदाको दिनलाई सदुपयोग गर्दै आफै बारीमा खट्नेगरेको उहाँको भनाइ छ । नियमित रुपमा नभई आवश्यकताको आधारमा दैनिक ज्यालादारीमा कामदार लगाउनेगरेको न्यौपानेले बताउनुभयो । कृषि कर्मबाट नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यलाई श्रीमतीको राम्रो साथ रहेकाले आफू अहिले यहाँसम्म आउन सकेको न्यौपानेले बताउनुभयो । 

श्रीमानले गर्न लागेको कामलाई आफूले सक्दो सहयोग गर्दैआएको र कृषि कर्मको रेखदेख गर्दैआएको श्रीमती सिर्जना न्यौपानेले बताउनुभयो । हर्मिचौर, अर्वेनीमा कुनै विबाह, ब्रतबन्ध र पूजाआजा भएमा तरकारीको माग सिधै आउनेभएकाले घरमै लगिदिने गरेको न्यौपानेले बताउनुभयो ।

आफूले उत्पादन गरेको कृषिउपजलाई बजारको समस्या नभएको न्यौपानेले बताउनुभयो । आफनै गाडी पनि भएकाले मिर्मी, गल्याङ र बुटवलसम्म कृषिउपज बिक्री हुनेगरेको छ । उहाँले गरेको कृषि कर्मलाई हेर्न जिल्ला र जिल्ला बाहिरबाट पनि कृषक जानेगरेका छन् ।