• १४ मंसिर २०८१, शुक्रबार

६६ रोपनी क्षेत्रफलमा बिउ उत्पादन

blog

मल्लरानी गाउँपालिका–३ धनुवासमा सिमीको बिउ उत्पादनका लागि गरिएको खेती। तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, मङ्सिर २७ गते।  जिल्लामा यस वर्ष विभिन्न जातको बिउ उत्पादन गर्न लागिएको छ।  राजमा, सिमी, बोडी र मूलाका विभिन्न जातको  बिउ उत्पादन गर्न थालिएको हो। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले तरकारी खेती अन्तर्गत यस वर्ष जिल्लामा बिउ उत्पादनको कार्यक्रमलाई प्राथमिकता दिएको छ।  कार्यालयका प्रमुख चुमानसिंह गिरीले जिल्लाका विभिन्न ठाउँमा ६६ रोपनी बढी क्षेत्रफलमा बिउ उत्पादनका लागि खेती गरिएको बताउनुभयो।  उहाँका अनुसार राजमा पिडीआर १४, सिमी चौमासे, सिमी त्रिशुल, बोडी प्रकाश, मुला मिनोअर्ली जातको बिउ उत्पादन गर्न लागिएको हो। 

नेपाल अनुसन्धान परिषद्बाट मुल बिउ ल्याएर जिल्लाको हावापानी अनुकुल हुने ठाउँमा उत्पादनका लागि खेती गरिएको कार्यालय प्रमुख गिरीले बताउनुभयो।  ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका, माण्डवी गाउँपालिका र प्युठान नगरपालिकाका विभिन्न ठाउँमा खेती गरिएको छ। 

जिल्लाबाट यसवर्ष ७० क्विन्टल बिउ उत्पादन गर्ने लक्ष्य लिइएको कार्यालय प्रमुख गिरीले बताउनुभयो।  उत्पादित बिउ बिक्रीका लागि समेत कम्पनीसँग सम्झौता गरिने उहाँले बताउनुभयो। 

प्युठानलाई चिनाउने गरेको रातो मुला लोप हुन थालेपछि यसको बिऊ उत्पादन र संरक्षणको काम  थालिएको हो।  गत आर्थिक वर्षमा ऐरावती गाउँपालिका–४ कैरन र प्युठान नगरपालिका–१ दाखाक्वाडीमा खेती गरी रातो मुलाको बिउ उत्पादन गरिएको थियो।

रातो मुला स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायक मानिन्छ।  रातो मुला बिउ संरक्षणले जिल्लाको पहिचान गराउने मात्र नभई स्थानीय कृषकले समेत राम्रोसँग आम्दानी गर्न सक्छन्।  बिउ उत्पादनसँगै यसको व्यवसायिक खेती गरेर बजारीकरणमा सहयोग गर्नुपर्ने कृषकको भनाइ छ।