• २३ वैशाख २०८१, आइतबार

सुन्तला उत्पादनमा तुलनात्मक कमी

blog

स्याङ्जामा उत्पादित सुन्तला । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, मङसिर २७ गते । स्याङ्जामा गत वर्षभन्दा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गतवर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष भने घटेर १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । 

गत वर्ष एक अर्ब ३८ करोडको सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष एक अर्ब १४ करोड  ५२ लाख २० हजार रुपियाँको सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनले ४० बगैँचामा क्रप कटिङ गरेपछि सुन्तला उत्पादनको औसत सार्वजनिक गरेको हो । 

यो वर्ष उत्पादन घटे पनि बिक्री मूल्य भने औसतमा कृषकले राम्रो पाउने प्रारम्भिक आङ्कलन गरिएको छ । गत वर्ष ५५ रुपियाँ प्रतिकिलो सुन्तला बिक्री भएको थियो भने यो वर्ष औसतमा ६० रुपियाँ प्रतिकिलो बिक्री भइरहेको छ । यहाँको सुन्तला रसिलो र दाना चिल्लो हुने भएकाले उपभोक्ताको रोजाइमा स्याङ्जाको सुन्तला पर्ने गरेको छ । यसवर्ष ३० प्रतिशत सुन्तला विक्री भएको छ भने बाँकी ७० प्रतिशत सुन्तला बोटमै छन् । 

यो वर्ष मुख्य खडेरी र असिनाका उत्पादनमा कम भइरहँदा पतेरा र औँसा किराले फल झरेपछि सुन्तला उत्पादनमा कमी आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत माधवप्रसाद लम्सालले एक वर्ष बाक्लो फल्ने, अर्को वर्ष पातलो फल्ने गरेको र यसवर्ष पातलो नै फलेको बताउनुभयो । 

जिल्लाको सुन्तला उत्पादन क्षेत्र २२ सय हेक्टर रहेकोमा उत्पादनशील बगैँचाको क्षेत्रफल १३ सय २० हेक्टर रहेको छ भने ८८० हेक्टर बेर्ना बगैँचा रहेका छन् । जिल्लामा आन्तरिक खपत १० प्रतिशत अर्थात् एक हजार ९ सय ८७.२ मेट्रिक टन रहेको छ । स्याङ्जामा सुन्तला उत्पादन प्रतिबोट ४८ केजी छ भने प्रतिहेक्टर १४ हजार ४६० केजी अर्थात् १४.४६ मेट्रिक टन रहेको छ ।


जिल्लामा उत्पादन हुने कुलमध्ये ९० प्रतिशत सुन्तला अर्थात् १७ हजार १७८.४८ मेट्रिकटन सुन्तला बिक्री हुने लम्सालले बताउनुभयो । ११ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुँदैआएको छ । 

पुतलीबजारमा ८५० हेक्टर, भीरकोटमा ३५०, वालिङमा २४०, गल्याङ नगरपालिकामामा १३० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदैआएको छ । अर्जुनचौपारीमा २७०, आँधीखोलामा १२५, फेँदिखोलामा ३५, बिरुवामा १५५, हरिनास गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदैआएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय स्याङ्जाले जनाएको छ ।