• १५ असार २०८१, शनिबार

बेनी सामुदायिक देशभरिमा सातौँ उत्कृष्ट विद्यालय घोषित

blog

म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक विद्यालय । तस्बिर ठाकुरप्रसाद

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर २७ गते । म्याग्दीको बेनी बजारस्थित बेनी सामुदायिक विद्यालय देशभरिमा सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको छ । 

नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले आर्थिक वर्ष २०७९-०८० मा गरेको मूल्याङ्कनमा बेनी सामुदायिक देशभरका विद्यालयमध्ये सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको हो । 

सुधार शाखाले फरक सूचकको आधारमा विद्यालयले गरेको असल अभ्यासहरूको सङ्कलन,प्रकाशन,प्रोत्साहन र प्रबोधीकरण कार्यक्रमतर्फ सात वटा प्रदेशका २१ विद्यालयहरूको स्थलगत अनुगमन गरी निर्धारित सूचक अनुसार मूल्याङ्कन गर्दा गण्डकी प्रदेशतर्फ द्वितीय स्थान र  नेपालभरिमा सातौँ स्थानमा पर्न सफल भएको हो । 

गुणस्तर सुधार शाखाले ७ प्रदेशका २१ वटा विद्यालयहरूको स्थलगत अनुगमन गरी निर्धारित सूचक अनुसार मूल्याङ्कन गर्दा गण्डकी प्रदेशमा दोस्रो र नेपालभरि ७ औँ स्थानमा विद्यालय पर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

गुणस्तर सुधार शाखाले हरेक प्रदेशका ३ वटा विद्यालयको स्थलगत अनुगमनमा विद्यालयले गरेको असल अभ्यासहरूको सङ्कलन, प्रकाशन, प्रोत्साहन र प्रबाेधीकरण कार्यक्रम तर्फ कार्यसम्पादन मूल्याङ्कनमा ८८ अङ्क प्राप्त गरेको प्रअ श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘देश भरी र गण्डकी प्रदेशमा नतिजा सुधार देखिएको छ,यो नतिजाबाट धेरै उत्साहित छौ । विद्यालयको थप शैक्षिक गुणस्तर सुधार गर्न हामीलाई अहिलेको नतिजाले हौसला मिलेको छ ।’’ विद्यालय उत्कृष्ट हुनुमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक, विद्यार्थीको साथै  सरोकारवाला निकायको योगदान रहेको प्रअ श्रेष्ठले बताउनुभयो । 

साथै कार्यसम्पादन मूल्याङ्कनका आधारमा पनि देशभरमा १२ औँ स्थानमा पर्न सफल भएको उहाँले बताउनुभयो । २०११ सालबाट अस्थायी रूपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।

२०६३ सालदेखि माध्यमिक तहको परीक्षामा सहभागी विद्यालयले हरेक वर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । वि.सं २०७० सालमा नेपालकै सर्वोत्कृष्ट विद्यालयको सम्मान प्राप्त गरेको थियो । विद्यालय शैक्षिक भ्रमणको थलोका रूपमा पनि विकास भएको छ ।  हालसम्म देशभरका १ सय ६० विद्यालयले सामुदायिक तथा ६ सय ५५ विद्यालयका प्रअहरूले यस विद्यालयको भ्रमण गरिसकेका छन् ।