• २७ वैशाख २०८२, शनिबार

स्तनपान कक्षविहीन छन् पालिका

blog

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा स्थापना गरिएको स्तनपान कक्ष । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, मङ्सिर २७ गते । सिन्धुली जिल्लामा चार वटा पालिका अझै स्तनपान कक्षविहीन छन्। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म जिल्लाका चार वटा पालिकाले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन् ।

सेवा प्रवाह गर्ने संस्थाहरू सेवाग्राहीमैत्री हुनुपर्ने नेपाल सरकारको नीति भएकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले २०७७ सालबाटै कार्यालयमा स्तनपान कक्ष सञ्चालनमा ल्याएका छन् तर जिल्लाका अन्य सरकारी कार्यालयमा स्तनपान कक्षको सुविधा नरहेको सेवाग्राहीको गुनासो छ ।

जिल्लाका नौ वटा पालिकामध्ये कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाले स्तनपान कक्ष स्थापना गरिएको छैन । ती पालिकाले कोठाको अभावमा स्तनपान कक्ष स्थापना गर्न नसकेको जनाएका छन् । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले पालिका आफैँ अहिले भाडाको घरबाट सञ्चालन भइरहेको र सबै कर्मचारी कोचिएर काम गर्नुपर्ने अवस्था रहेकाले स्तनपान कक्ष स्थापना गर्न कोठाको अभाव रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पालिकाको भवन बन्दै छ । भवन निर्माण पूरा भएपछि स्तनपान कक्ष स्थापना गर्ने योजना छ ।”

उता तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर पनि कोठाकै अभावमा स्तनपान कक्ष स्थापना गर्न नसकिएको बताउनुहुन्छ। “स्तनपान कक्ष स्थापनाका लागि भवन बन्दै छ,” उहाँले भन्नुभयो, “भवन बनेर कोठा तयार भएपछि यो वर्ष स्थापना गर्छौं । पालिकाका विद्यालयमा उक्त सुविधा छ, पालिकामा छैन ।”

दुधेबालक च्यापेर हिँड्नुपर्ने बाध्यतामा रहेका महिला सेवाग्राहीलाई स्तनपान कक्षको व्यवस्था हुँदा निकै सहज हुने सेवाग्राही बताउँछन्। सरकारी कार्यालयमा सेवा लिन जाँदा खुला स्थानमा असहज रूपमा स्तनपान गराउनुपर्ने बाध्यता भएको कमलामाई नगरपालिका–१० निवासी चन्द्रकला बरालले बताउनुभयो ।  कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकाले पनि कोठाको अभावमै स्तनपान कक्ष व्यवस्था गर्न नसकेको जनाएका छन् । दुधौली नगरपालिकाले दुई महिनाअघि मात्रै स्तनपान कक्ष स्थापना गरेको छ । 

दुधौली नगरपालिकाका प्रशासन शाखा प्रमुख मल्लब अधिकारी दनुवारले भुइँतलामा रहेको वातावरण शाखा बसेको कोठा खाली गरी स्तनपान कक्ष स्थापना गरेर सेवाग्राही तथा कर्मचारीलाई सुविधा दिएको जानकारी दिनुभयो । स्तनपान कक्ष वडा कार्यालयमा समेत स्थापना गर्ने योजना रहेको उहाँको भनाइ छ । बालबालिकाको स्तनपान अधिकार सुनिश्चित गर्न सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाले स्तनपान कक्षको व्यवस्था गरिसकेका छन् ।

सुनकोशी गाउँपालिकाले पहिलो कार्यकालमै सबैभन्दा पहिले स्तनपान कक्ष स्थापना गरेको जनाएको छ। आफ्नै कार्यालय भवन भएका हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकाले गत वर्षको अन्तिममा स्तनपान कक्ष स्थापना गरेका थिए । ३६ हजार ४० रुपियाँ खर्च गरेर स्थापना गरिएको स्तनपान कक्ष मापदण्ड अनुसार सञ्चालनमा ल्याइएको मरिणका सूचना अधिकारी विनय सुयालले बताउनुभयो । घ्याङलेख गाउँपालिकाले २०८० साल असार २५ मा उचित स्थानको अभावमा पनि स्तनपान कक्ष स्थापना गरेको छ । गाउँपालिकाको निर्माणाधीन भवन सम्पन्न भएपछि व्यवस्थित बनाइने गरी हाललाई काम चलाउँदै गर्न सकिने कक्ष स्थापना भएको पालिकाले जनाएको छ ।