• १२ कात्तिक २०८१, सोमबार

शिवालयमा चालिस हजार भक्तजन

blog

बेनी समाचारदाता 

म्याग्दी, मङ्सिर २७ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा बालाचतुर्दशी पर्वका अवसरमा करिब ४० हजार भक्तजनले पूजाआजा र दर्शन गरेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सबैभन्दा धेरै भक्तजन आएको जनाएको छ । 

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भन्नुभयो, “बालाचतुर्दशी पर्वका अवसरमा देशभरबाट शिवालय मन्दिरको पूजाआजा, दर्शन र शतबीज छर्न आएका थिए । हाम्रो अनुमान ३५ देखि चालिस हजार भक्तजनले गलेश्वरको दर्शन गरे ।” भक्तजनबाट सङ्कलन भएको भेटी मङ्गलबार गणना गर्दा छ लाख दुई हजार २३३ रुपियाँ भेटी सङ्कलन भएको उहाँले बताउनुभयो । भेटी रकम र भक्तजनको उपस्थितिले ४० हजार भक्तजन आएको पुष्टि भएको उहाँको भनाइ छ । भक्तजनलाई शतबीज छर्न, पूजाआजा र दर्शन गर्न सहज होस् भनेर स्वयम्सेवक र सुरक्षाकर्मी परिचालन गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले गलेश्वरमा लाग्ने मेला पर्वमा एकैदिन सङ्कलन भएको भेटी यसपालिको बालाचतुर्दशीमा हालसम्मकै धेरै भएको जानकारी दिनुभयो । उहाँका अनुसार यसपालिको बालाचतुर्दशीमा देशभरबाट भक्तजन आएका छन् । साउन महिनाको सोमबार, बालाचतुर्दशी, महाशिवरात्रिको भोलिपल्ट र अन्य समयमा मासिक रूपमा मन्दिरमा चढाएको भेटी रकम गन्ने गरिएको छ ।

कृष्णगण्डकी किनारमा रहेको नौ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पूरा हुने जनविश्वास रहेको छ । मुक्तिनाथ दर्शन गर्न आएका भक्तजनसमेत गलेश्वर शिवालयको दर्शन गर्ने गर्दछन् ।