राजन रावत
हुम्ला, मङ्सिर २७ गते । सदरमुकाम समेत रहेको सिमिकोट र उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका आज ( बुधवार ) सार्वजनिक बिदा दिएका छन् । यी दुवै गाउँपालिकामा बसोबास गर्ने लामा समुदायले मनाउने पर्व लोसार परेको कारण गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।
नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीले बौद्ध धर्मावलम्बी भोटे लामा समुदायहरूले मनाउने २१५१ को सोनाम ल्होसारको अवसरमा बुधवार र बिहीबार गरी दुई सार्वजनिक बिदा दिइएको बताउनुभयो ।
यो निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको हो । सार्वजनिक बिदामा गाउँपालिका, स्वास्थ्य तथा शिक्षण संस्था पूर्ण रूपमा बन्द रहनेछन् । त्यसैसरि सिमिकोट गाउँपालिकाले पनि वडा नम्बर १, ३ र ४ मा बसोबास गर्ने लामा समुदायहरूले मनाउने तोङ्तरी ल्होसारको अवसरमा मङ्सिर २७ गते एक दिनका लागि सार्वजनिक बिदा दिएको गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया भामले बताउनुभयो ।
बिदाका दिन गाउँपालिका भरिका शिक्षण, स्वास्थ्य र वडा कार्यालय बन्द रहनेछन् ।