सिन्धुली समाचारदाता
खुर्कोट (सिन्धुली), मङ्सिर २७ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ । बाँध निर्माणस्थलको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा स्थलगत निरीक्षण गर्नुभयो ।
सो अवसरमा आयोजना प्रमुख मित्र बरालले सो आयोजनाको १३.३ किलोमिटर लम्बाइको सुरुङ तीव्र गतिमा निर्माण भइरहेको र सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माणको काम सुरु भएको जानकारी दिनुभयो ।
गत वर्ष असोज २८ देखि खन्न सुरु गरिएको सुरुङ हालसम्म साढे १० किलोमिटर लम्बाइ निर्माण भइसकेको र सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको आयोजना प्रमुख बरालले सुनाउनुभयो ।
उहाँले पटेल रमण जेभीले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी बाँध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा २०७९ साल माघमा सम्झौता गरेको र सुनकोशी नदीमा पानीको बहाव बढेकाले बाँध निर्माण समयमा नै हुन नसकेको बताउनुभयो ।
२०८४ सालको असोजमा आयोजनाको पूरै काम सक्ने योजनाका साथ निर्माण कार्य भइरहेको उहाँको भनाइ थियो । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकामा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको उहाँले बताउनुभयो ।
दोस्रो चरणको काम अन्तर्गत बाँध निर्माणको काम अगाडि बढाइएको हो । सुरुङ निर्माणको काम २०७९ साल असोज २८ देखि सुरु भएको थियो । सुरुङ निर्माणको अवधि २२ महिनाको रहेको छ ।
सुनकोशी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । आयोजनाबाट ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने छ । मरिण खोलामा पानी खसालेपछि त्यही पानी प्रयोग गरी थप ४० देखि ५० मेगावाट विद्युत् निकाल्ने गरी नयाँ अवधारणा ल्याई अध्ययन भइरहेको छ । उत्पादित विद्युत् ३७.२ डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत नवलपुर सबस्टेसनमा जोडिने छ ।