• २१ पुस २०८१, आइतबार

घट्यो तोरी लगाउने क्षेत्रफल

blog

मीना कँडेल

कावासोती, मङ्सिर २७ गते । नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सरकारले तेलहन बालीलाई प्रवर्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण बढ्दो रहेको भए पनि क्षेत्रफल विस्तारमा भने घट्दो रहेको छ ।

जिल्लाको कावासोती, मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार गत वर्ष एक हजार १८५ हेक्टरमा तेलहन बाली लगाइएको थियो । यस वर्ष एक हजार १६१ हेक्टरमा तोरी खेती गरिएको छ । गत वर्षभन्दा २४ हेक्टर क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।    

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले नवलपुरको समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम अन्तर्गत करिब एक सय हेक्टरमा आलु खेती विस्तार भएकाले तोरी खेती गर्ने क्षेत्रफल घटेको बताउनुभयो । प्रतिहेक्टर १.०८ मेट्रिक टनले उत्पादन हुने गरेको यस जिल्लामा आव २०७९/८० मा एक हजार २८५ मेट्रिक टन तोरी उत्पादन भएको सूचना अधिकारी काफ्लेले जानकारी दिनुभयो । तोरी फुलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूल हुनु नै उत्पादन वृद्धिको मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । किसानले लगाएको तोरीको उत्पादन वृद्धिका लागि कृषि ज्ञान केन्द्र, पालिकाहरूले उन्नत जानका बिउसँगै परामर्श प्रदान गर्दा उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास रहेको उहाँ बताउनुहुन्छ । रोग, किराको समस्या समाधान भयो भने २४ हेक्टर क्षेत्रफल घटे पनि उत्पादन राम्रो हुन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।