नवराज कट्टेल
विराटनगर, मङ्सिर २७ गते । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचार गरेका बिरामीको मृत्युको भ्रम अस्पतालले बिरामी र आफन्तलाई बिरामीको स्वास्थ्य अवस्थाबारे राम्रो जानकारी नदिँदा उत्पन्न भएको पाइएको छ।
अस्पतालले आफन्तलाई ‘गलत परामर्श’ दिँदा भ्रम सिर्जना भई अचेत रहेका बिरामीको मृत्यु भएको भ्रममा परी अन्तिम संस्कारको तयारीसमेत भएको पाइएको हो।
गलत परामर्शकै कारण सुनसरीको इनरुवा–३ का ४५ वर्षीय प्रताप सदा मुसहरको घरपरिवारमा भ्रम सिर्जना भएपछि त्यसले सामाजिक रूपमा गलत सूचना प्रवाह हुन पुगेको देखिएको हो।
मेट्रो न्युरो अस्पतालमा उपचारका लागि गत शनिबार भर्ना भई आफन्तको जिम्माजमानीमा आइतबार डिस्चार्ज भएका सदालाई अचेत अवस्थामा घर पु¥याइएको थियो। उपचार खर्च जुटाउन परिवारले नसक्ने बताएपछि घर फिर्ता लैजाने अस्पताल प्रशासनसँग आग्रह गरेका थिए । मेट्रो न्युरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार मेहताले परिवारको जिम्मा लगाएर पठाइएको बिरामीलाई अस्पतालले मृत घोषणा नगरी उहाँको जीवन जोखिममा रहने कुरा जानकारी गराएको बताउनुभयो ।
उपचाररत अस्पतालले आइसियुबाट भेन्टिलेटरमा बिरामी राख्नुपर्ने आफन्तलाई बताएपछि खर्च अभावले परिवारले घर फर्काउन चाहेको कार्यकारी अधिकृत मेहताको भनाइ छ। “मेनेन्जाइटिस भएको उहाँलाई हामीले अस्पतालको आइसियुबाट निकाल्दा ज्यान जोखिममा छ भनेर जिम्मा लगाएका हौँ तर मृत घोषणा गरेर शवगृहमा १५ घण्टा राखेको भन्ने खबर गलत छ,” मेहताले मङ्गलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।
अस्पताल प्रशासनको यही परामर्शले बिरामी सदा श्रीमती सीताकुमारी ऋषिदेव र परिवारलाई भ्रम सिर्जना गरिदिएको देखिन्छ नि ? भन्ने मेहतासँगको प्रश्नमा उहाँले भर्ना बिरामीको अवस्था हेरेर अस्पतालले ‘काउन्सिलिङ’ गरेको दाबी गर्नुभयो । अस्पतालले बिरामीको अवस्था जोखिमपूर्ण रहेको बताएर परिवारलाई जिम्मा लगाउँदा अर्धचेत अवस्था रहेको थियो । परिवारले अस्पतालबाट घर पुर्याउँदासम्म बिरामी अर्धचेत नै पुर्याएका थिए । अस्पताल प्रशासनले ज्यान नै जान सक्ने भनी गरेको कुरा र बिरामीसमेत सिकिस्तसँगै कुनै चाल नदिँदा ‘मृत्युको भ्रम’ सिर्जना भएको देखिन्छ ।
अस्पताल प्रशासनले ‘गोरखापत्र दैनिक जस्तो सम्मानित संस्था’ र अन्य मिडियाद्वारा सत्यतथ्य नबुझी भ्रामक समाचार सम्प्रेषणप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख कार्यकारी अधिकृत मेहताले उद्घाटन हुन बाँकी रहेको अस्पतालका बारेमा आएको समाचारले क्षति पुगेको गुनासो गर्नुभयो ।