• २० असोज २०८१, आइतबार

अवैध दोहन गर्ने ५६ सवारी साधन नियन्त्रण

blog

प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन ।

रमेश पौडेल

पोखरा, मङ्सिर २६ गते।  कास्की जिल्लाअन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाएर चोरी निकासी गर्ने विभिन्न ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंगलबार अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ओसार–पसार गर्ने, भ्याट बिल र अन्य कागजपत्र नभएका, फर्जी बिल बनाएका विभिन्न ५६ वटा सवारी साधन (ट्रक, टिपर, ट्याक्टर)  नियन्त्रणमा लिएको हो। 

पोखराको कोत्रे, बैदाम र बगर गरी फरक फरक तीन ठाउँबाट समाती नियन्त्रणमा लिइएका उक्त सवारी साधनलाई आवश्यक कारवाहीका लागि पोखरा महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय न्युरोडमा पठाइएको थियो।  लोड भएका टिपरलाई न्युरोड क्षेत्रलगायत महानगरमा राखिँदा न्युरोडको ट्राफिक केही समय अस्तव्यस्त भएको थियो।  

टिपर व्यवसायी नेत्रबहादुर खत्रीले आफ्नो बिलविजक सबै हुँदा पनि प्रहरीले समाएको गुनासो गर्नुभयो।  व्यवसायी, महानगर र प्रहरी बिचको छलफल कागजात भएकालाई छोड्ने र बिलविजक नहुने सवारीसाधनलाई जरिवाना गरेर छोड्ने महानगरका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिनुभयो। 

महानगरले ठेक्का लगाएको नदी किनार र घाटमा पहिलेको बिलविजक प्रयोगमा आउने तर यस्ता ठाउँबाट पत्र नलिई हिँडेको अवस्थामा पनि प्रहरीले कतिपयलाई नियन्त्रणमा लिएको थियो।   त्यस्ता सवारीसाधनलाई  छानबिन गरी छाडिएका छन्।  

यस वर्ष ठेक्का लगाएका चार वटा घाटबाट आठ करोड ५४ लाख बराबरको आम्दानी भएको  छ।  थप १२ वटा घाटमा ठेक्काको लागि टेन्डर खुलाएको सूचना अधिकारी तिवारीको भनाइ छ।