• १५ असार २०८१, शनिबार

काठमाडौं महानगरपालिका र केयूबिच नीतिगत सम्झौता

blog

काठमाडौं, मंसिर २६ गते । काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबिच सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न नीतिगत सम्झौता भएको छ । 

उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको रोहवरमा मंगलबार महानगरका शिक्षा अधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य रहेको जनाएको छ । योजनामा टिचर कलेज कार्यक्रम समावेश छ । 

सम्झौतापछि बोल्नुहुँदै महानगरकी उपप्रमुख सुनिता डंगोलले असल नागरिक उत्पादन गर्न महानगरपालिकाले शिक्षा सुधारका लागि लगानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले तयार पारेका कार्यक्रम तत्काल कार्यान्वयन गर्न चाहन्छौँ । यसबाट नीतिमा सुधार गर्नुपर्ने कुनै अवस्था देखियो भने सुधारको अवसर प्राप्त हुनेछ ।

उहाँले भन्नुभयो एउटा मात्र नभई सबै सामुदायिक विद्यालय नमुना हुनुपर्ने तथा नानीबाबुलाई विद्यालय पठाउने बेला हरेक अभिभावकको मनमा सामुदायिक विद्यालयको चित्र आउनुपर्ने भनाइ राख्नुभयो ।

विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले भन्नुभयो, “व्यक्ति, समुदाय र देशको उन्नतिका लागि परम्परागत तथा रैथाने ज्ञान र छोटो अवधिको तालिमबाट प्राप्त अङ्कका आधारमा योग्यता निर्धारण गर्नुपर्छ । यसले व्यक्तिको उत्पादनशीलता बढाउँछ । काममा प्रोत्साहित गर्छ ।”