• २३ वैशाख २०८१, आइतबार

नवलपुरमा घट्यो तोरी लगाउने क्षेत्रफल

blog

कावासोतीमा लगाइएको तोरी खेती । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, मङ्सिर २६ गते ।
 नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सरकारले तेलहन बालीलाई प्रवर्द्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण बढ्दो रहेको भए पनि क्षेत्रफल विस्तारमा भने घट्दो रहेको छ ।

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार गत वर्ष एक हजार एक सय ८५ हेक्टरमा तेलहन बाली लगाइएको थियो । यस वर्ष एक हजार १६१ हेक्टरमा तोरी खेती गरिएको छ । गत वर्षभन्दा २४ हेक्टर क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।   

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले नवलपुरको समुदाय स्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन  कार्यक्रमअन्तर्गत करिब १०० हेक्टरमा आलुखेती विस्तार भएकाले तोरी खेती गर्ने क्षेत्रफल घटेको बताउनु भयो । प्रतिहेक्टर १.०८ मेट्रिक टनले उत्पादन हुने गरेको यस जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार २८५ मेट्रिक टन तोरी उत्पादन भएको सूचना अधिकारी काफ्लेले जानकारी दिनुभयो ।

बाली लगाउने सुरुआती दिनदेखि नै मल नपाएका किसान तोरी लगाउँदा समयमा मल उपलब्ध नहुनु नै मुख्य समस्याको रूपमा देखापरेको बत्ताउँछन् । विगतका वर्षमा निरन्तर ओरालो लागेको तोरीको उत्पादनमा यस वर्ष क्षेत्रफल घटेपछि उत्पादनमा कमी आउने उनीहरूको भनाइ छ ।

तोरी पुलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूलता हुनु नै उत्पादन वृद्धिका मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले बताउनुभयो । किसानले लगाएका तोरी उत्पादन वृद्धिका लागि कृषि ज्ञानकेन्द्र, पालिकाहरूले उन्नत जानका बिउसँगै परामर्श प्रदान गर्दा उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वासरहेको उहाँले बताउनुहुन्छ । रोग, कीराको समस्या समाधान भयो भने २४ हेक्टर क्षेत्रफल घटेपनि उत्पादन राम्रो हुन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।a