• १६ असार २०८१, आइतबार

इलाम अस्पताल छेउमा आगलागी, नियन्त्रण प्रयास जारी

blog

इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्साघरमा लागेको आगो । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, मङ्सिर २६ गते ।
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्साघरमा आगलागी भएको हो ।

भान्साघरमा कोही नभएको अवस्थामा मङ्गलबार दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो सुरु भएलगतै इलाम नगरपालिकाको दमकलाई खबर गरे पनि दमकल जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रण हुन सकेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउन प्रयास गरिरहेका छन् । आगोका कारण उक्त भान्साघरमा राखिएका पाँच वटा ग्यास सिलिण्डर पड्किएको आवाज आएको स्थानीयले बताएका छन् ।

आगलागीबाट भान्साघरमा राखिएका अन्य सामग्री जलेर नष्ट भएको अनुमान गरिएको घटनास्थलमा रहेको प्रहरी टोलीले जनाएको छ । आगोबाट कुनै मानवीय क्षति भने हुन पाएन । नजिकै आगो लागेपछि अस्पतालको प्रसूति वार्डमा रहेका बिरामीलाई भने अस्पतलाको इमरजेन्सी कक्षमा सारिएको बताइएको छ । यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आएको  छैन ।