• १० मंसिर २०८१, सोमबार

युवालाई उत्साहित तुल्याउन प्रतिनिधि सभा र राष्ट्रिय सभाबिच मैत्रीपूर्ण फुटसल : सभामुख

blog

काठमाडौं, मङ्सिर २६ गते । संसद् सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ । मङ्गलबार काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो ।

प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको छ । फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई उत्साहित तुल्याउन फुटसलको आयोजना गरिएको बताउनुभयो । उहाँले संसद् सेवा दिवसमा संसद्का सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले उत्सव मनाउने दिनका रूपमा आज फुटसल खेलिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘संसद् सेवा दिवसमा स्वाभाविक रूपमा संसद्का सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले उत्सव मनाउने दिन हो । हामी फुटसल खेलेर मनाउँदै छौँ । युवापुस्तालाई उत्साह गर्ने कुरा हो ।’’

त्यस्तै, अध्यक्ष तिमिल्सनाले देशको विकासका लागि खेल अनुशासन र लगनशीलताका साथै व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा भएको बताउनुभयो । उहाँले खेललाई युवा पुस्तामा प्रोत्साहन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले नेताहरूले खेलाडीहरूबाट अनुशासन र टिमवर्ककको बारेमा सिक्न आवश्यक रहेको बताउनुभयो ।

‘‘आजको सन्दर्भ संसद् सेवा दिवस, संसद् सेवा अलग्गै भएको १७ औँ संसद् सेवा दिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम भएका छन्, त्यसमध्येमा यो फुटसल प्रतियोगिता पनि एउटा हो । राष्ट्रिय सभा र प्रतिनिधि सभाको टिम बनाएर मैत्रीपूर्ण खेल खेल्ने सन्दर्भ हो ।,’’ उहाँले भन्नुभयो,  ‘‘देशको विकासका लागि खेल, अनुशासन र लगनशीलता व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा पनि हो । यसलाई बिस्तारै अघि बढाउनुपर्छ भनेर प्रोत्साहन मिलोस् भनेर हो । सधैँ यस्तै गर्न पाए हुन्थ्यो, अब त अलि उमेर पुग्यो, ढाडको कारणले गाह्रो हुन्छ । राजनीतिक गोल र फुटबल गोल फरक हो । खेलाडीबाट धेरै कुरा सिके राजनीति पनि सफल हुन्छ ।’’

त्यस्तै, उपसभामुख इन्दिरा रानाले यस्ता कार्यक्रम संसद् सदस्यहरूका लागि महिनामा एक पटक राख्नुपर्ने बताउनुभयो । उपसभामुख रानाले सधैँ काम गर्नेहरूलाई तनाव हुने भएकाले संसद् सदस्यहरूलाई वर्षको एक पटक नभई महिनामा एक पटक यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनुभयो । खेलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४—० ले पराजित गरेको छ ।