• २७ वैशाख २०८२, शनिबार

खोल्सी संरक्षण कार्यक्रमबाट २५ घरधुरी लाभान्वित

blog

संरक्षण गरिएको मर्‍याङ खोला खोल्सी । तस्बिर: गोरखापत्र

बाबुराम शर्मा 

दोलखा, मङ्सिर २६ गते । क्षति व्यवस्थापनका लागि सञ्चालन गरिएको मर्‍याङखोला खोल्सी संरक्षण कार्यक्रमबाट नगरका २५ घरधुरी लाभान्वित भएका छन् ।  

गत वर्ष साउन २२ गते भएको वर्षा र रिचार्ज पोखरी फुटेर पुर्‍याएको क्षति व्यवस्थापनका लागि युएसए आइडी तयार नेपाल परियोजना र भीमेश्वर नगरपालिकाको संयुक्त लगानीमा भएको सो खोल्सी संरक्षण कार्यक्रमबाट दलित १३ सहित २५ घरधुरी लाभान्वित भएका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति एवं नगरका इन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो । 

उहाँका अनुसार परियोजनाको एक करोड १३ लाख र नगरको २० लाख रुपियाँमा काम सम्पन्न भएको हो । नगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने चम्केडाँडाको १५० मिटर खोल्सी दुवैतर्फ तारजाली लगाएर संरक्षण गरिएको छ । यो कार्यक्रमले ती घरधुरीका साथै तल्लो र माथिल्लो सडक पनि संरक्षण भएको छ । अब बाढी र पहिरोबाट बस्ती सुरक्षित बनेको छ । यसका अतिरिक्त त्यो खोल्सीमा नगरले थप काम गरिरहेको छ । 

२०७९ साल साउन २२ गते राति वर्षसँगै रिचार्ज पोखरी फुटेर चार घर बगाएको र अरू घर जोखिममा परेका थिए । वर्ष भइरहेका बेला सुख्खा याममा सिँचाइका लागि निर्मित ३० मिटर चौडाइ ७५ मिटर लम्बाइ र दुई मिटर गहिराइको रिचार्ज पोखरी फुटेको पानीको बेगले आएको पहिरोले ज्यानको क्षति नभए पनि सयौँ रोपनी जग्गा बगाएको थियो । विस्थापितहरू अहिले पुरानै लयमा फर्किन थालेका छन् ।