घोराही समाचारदाता
घोराही, मङ्सिर २६ गते । दाङको गढवा–कालाकाटे हुलाकी सडक निर्माणको काम पुनः सुरु भएको छ । गएको जेठदेखि रोकिएको गढवा–कालाकाटे सडकखण्ड अन्तर्गत गढवादेखि वनघुर्सीसम्मको सडक निर्माणको काम सुरु भएको हो । हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि राजपुर गाउँपालिकाको जङ्ग्रहवासम्मको सडक कालोपत्रे सम्पन्न भए पनि गढवादेखि कालाकाटेसम्मको सडक निर्माण हुन सकेको थिएन । सवारी सञ्चालनदेखि धुलोका कारण स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ ।
निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको हुलाकी सडक निर्माणको काम सुरु भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो । यही महिनाभित्र हुलाकी सडक निर्माणको काम सुरु नगरे ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको थियो । हुलाकी राजमार्ग निर्देशनालयको कार्यालय र निर्माण व्यवसायीबिच भएको सम्झौता अनुसार यही २२ गतेदेखि सडक निर्माणको काम सुरु भएको गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।
चालु आवको असार मसान्तसम्म सडक निर्माण सक्ने गरी काम सुरु गरेको ठेकेदार कम्पनी बज्रगुरु कान्छाराम जेभीका प्रतिनिधि आरएन सुवेदीले जानकारी दिनुभयो । शर्माले भन्नुभयो, “हुलाकी सडकखण्ड अन्तर्गत केही ठाउँमा वनका रुख र विद्युत्का पोलका कारण समस्या छ ।”
उक्त समस्या हटाउन स्थानीय सरकार र सम्बन्धित कार्यालयले पहल गरिदिने भएका छन् । चालु आवमा सडक निर्माणको काम सकिने बताइएको छ । हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिकाको कालाकाटेदेखि राजपुर गाउँपालिकाको सिक्टासम्मको सडक निर्माणको तीन वर्षभित्र सक्ने गरी २०७६ कात्तिकमा कार्यालय र निर्माण व्यवसायीबिच सम्झौता भएको थियो ।