• २३ वैशाख २०८१, आइतबार

आम्दानी मनग्य भएपछि मौरीपालनमा रमाउँदै कृषक

blog

नवलपुर देवचुलीका किसान मह काड्दै । तस्बिर : मीना कँडेल

मीना कँडेल

कावासोती, मङसिर २५ गते । नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ । महबाट कृषकले मनग्य आम्दानी पनि गरेका छन् । 

जिल्लाका किसानले अहिले जिल्लाभित्र नै चराउन राखिएका घारबाट मह काढ्न सुरु गरेका छन् । नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुली नगरपालिका –९ का जस्मती राना अहिले मह काड्न र बेच्न व्यस्त हुनुहुन्छ । 

उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो, “दुई घारबाट मौरीपालन थालनी गरेका हौँ । अहिले पन्ध्र घार पुगेको छ । राम्रो आम्दानी हुँदै आएको छ, सन्तुष्ट छौँ ।” पहिलो वर्ष एक क्विन्टल, दोस्रो वर्ष दुई क्विन्टल मह विक्री भएको उहाँले बताउनुभयो । प्रतिकेजी सातसयका दरले बेच्ने गरेको रानाले बताउनुभयो । 

मह विक्री गर्दा भएको आम्दानी त्यसै आएजस्तो लाग्छ । घरमा खाना बनाउँदै गरेको समयमा असार, साउनमा एक पटक चास्नी दिने र रानी उत्पादन गर्दा हेरविचार गरे पुग्ने भएकाले कम समय र मेहनतमा मौरीपालन गर्न रानाले सुझाव दिनुभयो । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने उहाँले बताउनुभयो ।

थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि नवलपुरमा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यस्तै, देवचुली –९ का अर्का किसान विष्णुबहादुर खड्का बाख्रापालनसँगै मौरीपालन गर्दै आउनुभएको छ । पाँच घारबाट सुरु गरी अहिले एक्काइस वटा मौरीका घार रहेका छन् । पहिलो चरणमा ८४ केजी उत्पादन गर्नु भएका उहाँले दोस्रो चरणमा एक क्विन्टल २० केजी उत्पादन गरेको बताउनुहुन्छ । पाँच घारबाट सुरु गरेको मौरीपालन व्यवसायलाई थप वृद्धि गरी २१ पुर्‍याएको र अर्काे वर्ष ५० घार बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

देवचुली –७ का सुकबहादुर गुरुङको अहिले मौरीको स्याहारसुसार गर्दै दिन बित्नेगरेको छ । विगत १५ बर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उहाँको १२० मौरीका घार रहेको छ । वर्षायाममा खानाको अभाव, परिजीवीको समस्या हुनेगरेको भए पनि अन्य समयमा भने मौरीपालन गर्न सहज भएको उहाँले बताउनुभयो । 


“परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मौरी विक्रीका लागि बजार पुग्नुपर्दैन” उहाँले भन्नुभयो । 

किसानको सङ्ख्यामा वृद्धि

नवलपुरमा अहिले झण्डै दुईसय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । जिल्लामा पाँच हजार मौरीका घार छन् । बर्सेनी यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या क्रमशः बढ्दै गएको नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले बताउनुभयो । 

नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष कँडेलका अनुसार यस वर्ष जिल्लामा करिब ५० मेट्रिक टन मह उत्पादन हुने गरेको छ । गत वर्षमात्र ४५ मेट्रिक टन मह उत्पादन भएको थियो । अहिले मौरीपालक किसानको संख्यामा वृद्धि भएसँगै मह उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । 

उत्पादित मह स्थानीय बजारदेखि नजिकका शहरमा खपत हुने गरेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा सेरना र तराई क्षेत्रमा मेलीफेरा प्रजातिका मौरी पालन गर्ने गरिएको छ । उत्पादनमा वृद्धि हुने भएकाले व्यावसायिक रुपमा मेलीफेरा प्रजातिको मौरीपालन गर्दै आएको राजेन्द्र रावलले बताउनुभयो । विगत दुई दशकअघिदेखि मौरीपालन गर्दै आउनुभएका रावललाई आफूले उत्पादन गरेको महको बजारीकरणमा समस्या नभएको बताउनुभयो ।

चरन क्षेत्रकोे समस्या

मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको भने समस्या हुने गरेको छ । स्थानीयरूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । नवलपुरमा तोरी ढिलो फुल्ने भएकाले पहिलो चरणमा चरणका लागि किसानले मौरी चरनका लागि अन्य जिल्लामा लैजाने गर्दछन् । पश्चिम नवलपरासीबाट दाङ, कपिलवस्तु, प्युठानसम्म नवलपुरबाट मौरी चराउन लैजाने गरिएको छ । अन्यत्र चरनका लागि लगिएका मौरी अहिले जिल्लामा नै चरनका लागि तोरी फुलेपछि ल्याइएको अध्यक्ष कँडेलले बताउनुभयो ।


तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा भने चरनका लागि समस्या हुनेगरेको उहाँले बताउनुभयो । फूल खेल्ने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको कँडेलले बताउनुभयो । “तोरी फुल्दा केही समय चरन सहज हुन्छ, तर कतिपय फूल खेल्ने रैथाने बाली लगाउने क्रम घट्दो छ, यसले मौरी चरनको क्षेत्र साँघुरिँदै गएको छ” उहाँले भन्नुभयो । 

रुदिलो, फापर, फिलुङ्गे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरीजस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि ठीक हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडिएको र किसानले खेती गर्न छाड्ने गरेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको बताउनुभयो ।