• १२ साउन २०८१, शनिबार

पृथ्वी राजमार्गको पश्चिम खण्ड २० किलोमिटर ६ लेनको बन्ने

blog

स्तरोन्नतिको पृथ्वी राजमार्ग फराकिलो बनाइँदै ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर २५ गते । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड अन्र्तगत तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेनको बन्ने भएको छ । अन्य खण्ड भने चार लेनको हुनेछ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । 

पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाइने मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो ।

राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्भर्ट निर्माण हुनेछ । मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा काम भइरहेको छ । पूर्वी खण्डमा ४२ प्रतिशत काम भएको पूर्वीखण्डका प्रमुख श्याम यादवले बताउनुभयो । पश्चिम खण्डमा जम्मा १२ प्रतिशत काम भएको छ । पूर्वी खण्डमा ४१ दशमलव ४५ किलोमिटर र पश्चिम खण्डमा ३८ दशमलव ८८ किलोमिटर दूरीमा निर्माण कार्य भइरहेको पौडेलले जानकारी दिनुभयो । भित्ता कटिङ्ग, सडक चौडा, वाल, कल्भर्ट र पुल निर्माणलगायत काम पनि भइरहेको छ ।

यस्तै, पश्चिम खण्डमा धेरै बजार क्षेत्र परेकाले खानेपानी तथा विद्युतको पोल र तार हटाउन नसकिएका कारण निर्माण कार्यमा ढिलाइ भएको आयोजनाका प्रमुख पौडेलले बताउनुभयो । पूर्वी खण्डभन्दा पश्चिम खण्डमा करिब छ महिना ढिलो गरी काम सुरु गरिएको हो । 

पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा निर्माण कम्पनीले कम जनशक्ति परिचालन गरेका कारणले पनि सोचेअनुरुप प्रगति हुन नसकेको उहाँले जानकारी दिनुभयो । पौडेलका अनुसार सडकमध्ये जामुनेबाट कुम्लेखोलासम्म कालोपत्र गर्न लागिएको छ । 

कालोपत्रका लागि पहिलो चरण अन्तर्गत ग्राबेल विच्छाउन थालिएको छ । करिब ११ किलोमिटर दूरी दुई लेनको भए पनि यस आर्थिक वर्षमै कालोपत्र गर्ने लक्ष्य छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । पश्चिम खण्डका लागि रु. सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । 

पूर्वी खण्डको कामका लागि वि.स. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विं.सं. २०८१ वैशाखसम्म छ । 

तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।