• २० पुस २०८१, शनिबार

यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

blog

काठमाडौँ, मङ्सिर २४ गते । एसिसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा नेपालले टर जितेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान देव खनाले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङ गर्ने निम्तो दिनुभएको हो । 

शुक्रबार समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटको लज्जासपद हार खेपेको नेपाललाई सेमिफाइनल यात्रा जीवित राख्न अफगानिस्तानलाई हराउनैपर्ने बाध्यता छ । यता अफगानिस्तानलाई पनि अगाडि बढ्न नेपाललाई रोक्नुपर्ने चुनौती छ । अफगानिस्तान पनि आफ्नो पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपाल र अफगानिस्तानको युवा टोलीबिच यसअघिको भिडन्तमा अफगानिस्तान बलियो देखिएको छ । यसअघि भएका पाँच भिडन्तमा नेपालले सबै खेलमा हार खेपेको थियो । त्यसैले आज अफगानिस्तानलाई हराउन सक्नु नेपालको पहिलो सफलता समेत हुनेछ । 

एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् ।

एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

अफगानिस्तानविरुद्ध नेपाल-११

देव खनाल (कप्तान), विपिन रावल (विकेट किपर), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कँडेल, दीपक बोहरा, सुभाष भण्डारी, उत्तम थापामगर,  हेमन्त धामी र आकाश चन्द