काठमाडौँ, मङ्सिर २४ गते । एभीएम टेबल टेनिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगितामा च्याम्पियन बनेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा एभीएमले नेपाल प्रहरी क्लबलाई ८–६ ले पराजित गर्दै विदेशी खेलाडी सहभागी गराएर नेपालमा पहिलोपटक आयोजना गरिएको टेबलटेनिस लिग च्याम्पियन बन्न सफल भयो ।
एभीएमका खेलाडीमा रुविन महर्जन, सुजन गडाल, सन्जिल शाक्य, अङ्कुर भट्टचार्जी (भारत), कौसनी नाथ (भारत), सिक्का सुवाल श्रेष्ठ, इभाना थापामगर र वियंका राई हुनुहुन्थ्यो ।
प्रहरीको टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविनकुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रबिना महर्जन र सागरिका मुखर्जी (भारत) रहनुभएको थियो । प्रतियोगितामा हरेक टोलीले अर्को टोलीविरुद्ध समान २–२ पुरुष/महिला सिंगल्स र १ मिक्स डबल्स खेल्नुपर्ने थियो ।
पहिलो पुरुष सिंगल्समा एभीएमका अङ्कुरले प्रहरीका संयोगलाई ११–५, ११–७, ११–६ ले पराजित गर्दै महत्वपूर्ण ३ अङ्क बटुल्नुभयो । महिलाको पहिलो सिंगल्स दुई भारतीय खेलाडीबीच भएको थियो । प्रहरीकी सागरिकाले एभीएमकी कौसनीलाई ११–९, ११–८, १०–११ हराउँदै प्रहरीका लागि २ अंक जोड्नुभयो ।
दोस्राे सिंगल्सको समाप्तिमा एभीएमले ४–२ को अग्रता बनाएको थियो । प्रत्येक सेट जितका लागि टोली १ अङ्क पाउँथे ।
मिक्स डबल्समा एभीएमका अङ्कुर र सिक्काको जोडीले प्रहरीका संयोग र सागरिकाको जोडीलाई ११–८, ३–११, ११–८ ले पाखा लगाउनुभयो । मिक्स डबल्सको समाप्तिमा एभीएम ६–३ ले अघि रह्यो । समग्रमा तेस्राे र दोस्राे पुरुष सिंगल्समा प्रहरीका जुविनले एभीएमका रुविनलाई ११–९, ११–५, ११–७ ले हराउँदै महत्वपूर्ण ३ अङ्क जोडेर खेललाई ६–६ को बराबरीमा ल्याउनुभयो । निर्णायक महिला सिंगल्समा एभीएमकी इभाना थापामगरले नौपटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नवीतालाई ११–९, ११–८ ले स्तब्ध पार्दै एभीएमलाई उपाधि दिलाउनुभयो ।
उपाधिसँग्रै विजेतालाई २ लाख तथा उपविजेतालाई १ लाख रुपियाँ पुरस्कार प्रदान गरियो । तेस्राे भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले समान ५०/५० हजार रुपियाँ प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा यी चार टिमसहित नेपाल आर्मी, गोड स्पिन टेबलटेनिस एकेडेमी, नेपाल एपीएफ क्लब, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब र नगाउँ स्पोर्ट्स क्लब गरी ९ टिम सहभागी थिए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।