• ११ पुस २०८१, बिहिबार

कानुनभन्दा ठुला धामीझाँक्री

blog

देउता गाड्दै बाजुराका धामीझाँक्री । तस्बिर : गोरखापत्र

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर २३ गते । बाजुराका अधिकांश स्थानीयका लागि अहिले पनि कानुनभन्दा गाउँका धामीझाँक्री ठुला भएका छन् । आफूले कानुनी निकायबाट नपाएको न्याय गाउँमा धामीझाँक्रीले दिएपछि आफ्ना लागि देशको कानुनभन्दा ठुला धामीझाँक्री हुने गरेको यहाँका स्थानीय बताउँछन् ।

गरिब सोझा सिधा जनताका लागि गाउँका ठुलाबडाले कानुन आफ्नो हातमा लिएर डर देखाउन थालेपछि आफूलाई धामीझाँक्रीबाट न्याय निसाफ मिलेको बुढीगङगा नगरपालिका –१० का बुदे सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०५४ सालमा गाउँमा मेरो हजारौँ रोपनी जमिन लुटियो भनेर मैले पुरानो गाउँ विकास समितिमा जाँदा न्याय मिलेन । त्यसपछि म सिधै मेरो जमिन लुटियो भनेर माटो लिएर देउताकहाँ जाँदा अहिले न्याय पाएको छु ।”

कानुनी रूपमा न्याय नपाएपछि जमिनको माटो मैले देउताकहाँ राख्दा एक जनाले एक ठाउँको जमिन देउताको डरले फिर्ता गरेको छ । अर्कोले पनि तेरो माटो लैजानु भन्दै आएको छ । अनि मेरो लागि त देशको कानुनभन्दा पनि गाउँका धामीझाँक्री नै ठुला रहेको सार्कीले बताउनुभयो ।

बाजुराको बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदह, बडीमालिका र गौमुललगायतका स्थानीय निकायका स्थानीयले पनि कानुनभन्दा देउताप्रति विश्वास गर्ने गरेका छन् । कानुनीरूपमा छाउप्रथा गलत भनिए पनि देउताको डरले यहाँका स्थानीयले छाउप्रथा अँगाल्दै आउने गरेका छन् ।

देवीदेउता र धामीझाँक्रीप्रति तल्लो क्षेत्रका स्थानीयले मात्र होइन यो विश्वास त बुढीनन्दा, हिमाली, जगनाथ र हिमालीलगायतका स्थानीयहरूले पनि उत्तिकै विश्वास राख्ने गर्दछन् । यहाँका अधिकांश स्थानीयको अहिले पनि केही मुद्दा परेमा त्यसको न्याय निसाफका लागि जिल्ला प्रशासन, प्रहरी र जिल्ला अदालतमा जानुभन्दा देउतामा जाने गरेका छन् । 

देवीदेउताप्रति पुस्ताले मान्दै आएको विश्वासका कारण अहिले पनि यहाँका अधिकांश स्थानीयको केही बवाल भएमा धामीझाँक्री कहाँ आउने गरेको बुढीगङ्गा नगरपालिका–१० सिगाडा निवासी स्थानीय धामीझाँक्री रङ्ग विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका ठुलाबडाले कानुन आफू प्रतिकूल गर्ने गरेकोले कमजोर पक्षले न्याय नपाउने गरेपछि त्यो दुख्ख विकल्पको रूपमा देउताकहाँ बिसाउने गरेको हो ।”

कानुनभन्दा ठुला त हामी होइनौँ । तर पनि दुवै पक्षको न्याय गल्ती कसको हो ? भन्ने कुरालाई प्रष्ट पार्ने हुँदा यहाँका अधिकांश स्थानीयले धामीझाँक्रीप्रति विश्वास गर्ने गरेको बताउनुभयो । बलियोले कमजोर पक्षलाई हेप्दै आएका कारण यहाँका स्थानीयले कानुनप्रति वाक्क लाग्दै आएको हो । यो कार्य पहिलादेखि अहिलेसम्म चल्दै आएको छ । 

अबदेखि हामी यहाँका स्थानीयको कानुनप्रतिको यो गलत सोचलाई बदल्ने गरी र उनीहरूलाई त्यो सोचबाट मुक्त हुने गरी जनताको न्याय निसाफमा ध्यान दिने गरेको बुढीगङ्गा नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर साउदले बताउनुभयो । 

अदालत भनेको अदालत नै हो । तर यहाँका स्थानीयको पुस्तौँदेखि अहिलेसम्म देउताप्रति पनि उत्तिकै आस्था रहेको हुनाले उनीहरूको चेतनामा परिवर्तन ल्याउनु जरुरी रहेको  अधिवक्ता हर्कबहादुर कडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “आस्था, विश्वास र भरोसाले उनीहरू धामीझाँक्रीको शरणमा जान्छन् होला । तर त्यहाँ पनि उनीहरूको चित्त बुझेन भने अन्तमा उनीहरूले पनि अँगाल्ने बाटो भनेकै कानुनी हो । ”

कुनै पनि व्यक्तिले कोही कसैलाई अपमान तथा अमानवीय व्यवहार गरेपछि तीन हजार जरिवाना तिन महिना कैद हुन्छ । राष्ट्रसेवक कर्मचारीको हकमा भने थप तीन महिना कैद रहेको अधिवक्ता कडायतले बताउनुभयो ।

चेतनाको कमीका कारण यहाँका स्थानीयले कानुनभन्दा पनि देवीदेउताप्रति विश्वास राख्ने गरेका छन् । पछिल्लो समय उनीहरूलाई कानुनी रूपमा जानकारी गराउन गाउँमा कानुनका बारेमा जनचेतना फैलाउनु जरुरी रहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।