• १२ साउन २०८१, शनिबार

चारलेन बन्दै काँकरभिट्टा-लौकही सडक

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर २२ गते । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा-लौकही सडक खण्ड स्तरोन्नतिका लागि सडक किनारका रुख काट्ने सुरु गरिएको छ । डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६.२ किलोमिटर क्षेत्रमा पाँच हजार ५५६ रुख छन् । 

मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सब डिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखको धमाधम छपान गरिरहेको यादवले बताउनुभयो । पाँच वटै सब डिभिजन वन कार्यालयबाट ४-५ जना जनशक्ति परिचालन गरी रुख छपान गर्ने काम भइरहेको छ । केही रुख यसअघि लडिसकेका छन् भने केही थपिन सक्ने यादवले बताउनुभयो । ठूलो परिणाममा रुख काट्नुपर्ने भएकोले टेण्डरबाट नै रुख कटान हुने उहाँको भनाइ छ । राष्ट्रिय प्राथमिकताको आयोजना भएकोले कुनै बाधा विरोधविना काम अघि बढ्ने यादवले बताउनुभयो ।

सुरुमा काँकरभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव ७७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । सडक दुई खण्डमा ठेक्का लागेको छ । काँकरभिट्टादेखि दमकसम्मको ४५ किलोमिटर सडक दमक कार्यालयले हेर्नेछ भने दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ। काँकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले भन्नुभयो, "सडक र पुल निर्माणका लागि ५ वटा अलगअलग ठेक्का लगाएको  छ । ठूला पुल निर्माणका लागि, साना पुल निर्माणका लागि बेग्ला बेग्लै ठेक्का लागेको छ भने ० देखि ४५ किमीसम्म, ४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७ दशमलव ७७० किमीसम्म ५ वटा ठेक्का लागेको छ ।"

निन्दा, बिरिङ, कन्काई पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ । यी ६ वटा पुल ३ सय मिटरभन्दा लामा छन् । काम छिटो सम्पन्न गर्न अलग अलग टेण्डर आह्वान भएको प्रजापतिले बताउनुभयो । 

जगत प्रजापतिका अनुसार सडक निर्माणका क्रममा जग्गा प्राप्ति गर्नुपर्ने अवस्था छैन । यद्यपि सडक क्षेत्रमा रहेका ४०४ वटा संरचना हटाउनु पर्नेछ । यस्तै मानिसले सानातिना बरण्डा निकालेका ४५ वटा घरको बरण्डा हटाइनेछ । प्रजापतिले भन्नुभयो, "यति ठूलो आयोजनामा यो क्षति अत्यन्तै सानो हो । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकैपटक काम सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेको ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् ।" तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ । आयोजनाले काँकरभिट्टा, इँटाभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायत नौ घनाबस्ती भएको स्थानमा आकासे पुल र जङ्गल क्षेत्रमा‘अन्डर पास’ निर्माण गर्नेछ । 

नेपालको कालिका र तुङ्की कन्ट्रक्सनसँग चाइनिज कम्पनीले जोइन्डमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताउनुभयो । पन्तका अनुसार सडक सहरी क्षेत्रमा ६ लेनको र ग्रामीण र जङ्गल क्षेत्रमा ४ लेनको हुनेछ । 

एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब २८ अर्ब १७ करोड रुपियाँ छ । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको यो सडक ‘एसियन हाइवे स्ट्यान्डर्ड’को बन्नेछ । ९७.७७० किलोमिटर मध्ये मोरङमा ३६.२ किलोमिटर सडक मोरङमा पर्छ भने झापामा ५६ किमी सडक पर्छ । सुनसरीमा झण्डै १० किलोमिटर सडक मात्र स्तरोन्नति हुनेछ ।