• १२ साउन २०८१, शनिबार

गोरखापत्रकर्मी तामाङ सम्मानित

blog

सम्मान ग्रहण गर्नुहुँदै गोरखापत्रकर्मी शिवा तामाङ । तस्बिरः कविता थापा

काठमाडौँ, मङ्सिर २१ गते । गोरखापत्रकर्मी शिवा तामाङ सम्मानित हुनुभएको छ । तामाङ पत्रकार सङ्घको २० औं स्थापना  दिवसको अवसरमा बिहीबार पत्रकार दीपेन्द्र तामाङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पत्रकार/चलचित्र निर्देशक दीपेन्द्र दोङ तामाङको स्मृतिमा स्थापना गरिएको “दीपेन्द्र तामाङ स्मृति पत्रकारिता” पुरस्कार प्रदान गरिएको छ । 

नेपाल तामाङ घेदुङका महासचिव जगत दोङले पत्रकार तामाङलाई १० हजार रूपियाँ नगद र सम्मानपत्रसहित सो पुरस्कार प्रदान गर्नुभएको हो । 

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, तामाङ पत्रकार सङ्घका अध्यक्ष सुवास योञ्जन तामाङलगायतको उपस्थिति थियो । 

सङ्घले यस अघि देशभरका छापा, रेडियो, टेलिभिजन र एफएममा कार्यरत तामाङ पत्रकारलाई समेट्ने जमर्कोसहित तामाङ मिडिया अवार्डलगायतका सम्मान प्रदान गर्दै आएकोमा करिब ६ महिना अगाडिदेखि स्व. दीपेन्द्र दोङ तामाङको नाममा पुरस्कार स्थापना गरिएको हो ।

कला, पत्रकारितामा सक्रिय तामाङको ब्रेन ह्याम्व्रेजबाट असामयिक निधन भएपछि उहाँकी धर्मपत्नी कलाकार चाँदनी मोक्तानलगायत परिवारको चाहनाले दीपेन्द्र तामाङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्न एक लाख रूपियाँ अक्षयकोषका लागि समूहलाई प्रदान गरिएको बताउनुभयो ।

सोही अक्षयकोषबाट आउने ब्याजले हरेक वर्ष सङ्घको स्थापना दिवस पारेर एकजना पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्य अन्तर्गत गोरखापत्रकर्मी तामाङ पुरस्कृत हुनुभएको बताउनुभयो ।  

सो अवसरमा २१ जनाले रक्तदान गर्नुभयो । दीपेन्द्र दोङ तामाङकी धर्मपत्नी कलाकार चाँदनी मोक्तानले कला, भाषा, साहित्य, चलचित्र र पत्रकारिताको कामलाई धेरै महत्व दिने घरमा भन्दा सामाजिक काममा बढी खटिने उहाँको बानी थियो भन्दै सम्झनुभयो ।

मोक्तानले आफ्ना श्रीमानलाई बचाउने हरसम्भव प्रयास सफल नभए पनि उहाँलाई सम्झिरहने माध्यम बनाउन पुरस्कारको स्थापना गरिएको र हरेक वर्ष एक जना तामाङ पत्रकारलाई प्रदान गर्ने कामले निरन्तरता पाउने बताउनुभयो ।