• १५ असार २०८१, शनिबार

भूकम्पपीडित बालबालिकालाई छात्रवृत्ति

blog

बाँकेको कोहलपुरस्थित राम–जानकी मावि । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, मङ्सिर २० गते । जाजरकोट भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई बाँकेको एक निजी विद्यालयले माध्यमिक तहसम्म निःशुल्क पढाउने घोषणा गरेको छ । 

बाँकेको कोहलपुर नगरपालिकामा रहेको राम–जानकी माध्यमिक विद्यालयले भूकम्पपीडित बालबालिकाका लागि निःशुल्क छात्रवृत्ति व्यवस्था गरेको हो ।  जाजरकोट केन्द्रबिन्दु भएर एक महिनाअघि गएको भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने निर्णय भएको विद्यालयका निर्देशक दिनेश सिग्देलले जानकारी दिनुभयो । 

निर्देशक सिग्देलले भन्नुभयो, ‘भूकम्पबाट धेरै बालबालिकाले अभिभावक गुमाएका कारण त्यसको असर बालबालिकामा नपरोस् भनेर विद्यालयका तर्फबाट थोरै भए पनि सहयोग गर्न खोजेका छौँ ।’ 

भूकम्पमा परी आमा गुमाएकी स्मारिका शाहीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने जिम्मेवारी लिएको उहाँले बताउनुभयो । स्मारिकाका लागि शैक्षिक सामग्री समेत उपलब्ध गराइएको छ । जाजरकोट भेरी नगरपालिकामा विद्यालय शिक्षक रहनुभएकी स्मारिकाकी आमा शोभा शाहको भूकम्पमा परी निधन भएको थियो । 

विद्यालयका अनुसार हाल स्मारिकालाई कक्षा ५ मा भर्ना गरिएको छ । सोही घटनामा अभिभावकविहीन हुनुभएका थप बच्चालाई पनि निःशुल्क छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।