• १३ असोज २०८१, आइतबार

उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी पुरस्कृत

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २० गते । रिडी राम्दी पाल्पाली समाज (रिरास) ले एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मानित गरेको छ । सो संस्थाले यहाँ आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मानित गरेको हो । 

२०७९ सालको एसइई परीक्षामा पाल्पा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्येबाट उत्कृष्ट अङ्क ल्याउने देववाणी संस्कृत तथा साधारण मावि तानसेनकी ममता भट्टराई सम्मानित हुनुभयो । त्यस्तै, पाल्पाबाट २०८० सालको कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने राम मावि राम्दीकी बिपिना न्यौपानेलाई समाजले छात्रवृत्ति पुरस्कारस्वरुप जनही १० हजार रुपियाँले सम्मानित छ ।

कार्यक्रममा पुनरावेदन अदालतका पूर्व न्यायाधीश तथा साहित्यकार कृष्णप्रसाद बस्याललाई न्याय सेवा तथा नेपाली साहित्यको क्षेत्रमा गर्नुभएको योगदान बापत सम्मान प्रदान गरिएको छ । सो अवसरमा यस वर्ष समाजका लागि आजीवन सदस्यता लिने सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

पूर्व प्रधानन्यायाधीश एवम् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार रुद्रनाथ बस्याल, समाजका संस्थापक अध्यक्ष यज्ञप्रसाद बस्याल, पाल्पाली सङ्गमका उपाध्यक्ष केशवराज आचार्य तथा पुरस्कृत तथा सम्मानित व्यक्तित्वलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

विभिन्न पेसा तथा रोजगारीका सिलसिलामा पाल्पाबाट काठमाडौँमा आई बसोबास गर्ने पाल्पालीको बिचमा आपसी सहयोग तथा भातत्वको विकास गर्ने उद्देश्यले २०६५ सालमा स्थापना भएको रिडी राम्दी पाल्पाली समाजले काठमाडौँ तथा पाल्पा जिल्लामा छात्रवृत्ति, स्वास्थ्य शिविर, समाज कल्याणका विभिन्न कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ।