काठमाडौं, मंसिर २० गते । सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा स्पेसल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक विजय कुँवर सर्वप्रथम हुनुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तालिमका दृष्टिले लामो तथा अत्यन्तै कठिन मानिने एसटिएफ तालिम सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गरेका प्रशिक्षकहरूलाई धन्यवाद दिनुहुँदै तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई बधाई दिनुभयो ।
उहाँले फौजलाई गतिशील र लगनशील बनाउन तालिम अपरिहार्य रहेको चर्चा गर्नुहुँदै तालिमको दौरानमा सिकेका ज्ञान र बगाएको पसिनाले कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै सुरक्षा चुनौतीहरुको सामना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई एसटिएफको ट्याक समेत प्रदान गर्नुभयो ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले तालिममा प्राप्त स्रोतसाधनको अधिकतम प्रयोग गरी दक्ष जनशक्ति उत्पादन गर्नुका साथै भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूको सामना गर्न समयसापेक्ष यस्ता तालिम आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा तालिमको दौरानमा प्रशिक्षार्थीहरुले हासिल गरेका तालिम सम्बन्धी विभिन्न गतिविधिहरूको डेमोस्ट्रेशन गरेका थिए ।
करिब १६ हप्ता अवधिको सो तालिममा तीन जना सशस्त्र प्रहरी निरीक्षकसहित कुल ८६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेश थापाका अनुसार तालिम समापन समारोहमा नेपाली सेना पश्चिम पृतना हेक्वाका पृतनापति उपरथी दीपक कुमार बानियाँ, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक कृष्ण प्रसाद खनाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत एवम् अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।