• २३ पुस २०८१, मङ्गलबार

राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट सुरु

blog

धर्बेन्द्र झा 

धनुषा, मङ्सिर २० गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जिल्लास्तरीय राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट बुधबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक सहयोग र श्री दुधमती युवा क्लबको आयोजनामा १३ दिनसम्म चल्ने सो टुर्नामेन्टको आज एक कार्यक्रमबिच जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले उद्घाटन गर्नुभयो । 

विभिन्न जिल्लाका १६ वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाई ५५ हजार ५०५ रुपियाँको नगद पुरस्कार र शिल्ड त्यसैगरी दोस्रो हुने टिमलाई २५ हजार ५०५ रुपियाँको नगद पुरस्कार र शिल्ड दिने आयोजक जनकपुरधाम उपमहानगरपालिका –२३ का वडा अध्यक्ष राघबेन्द्र साहले जानकारी दिनुभयो । 

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख साहले यसप्रकारको प्रतियोगिताको आयोजनाले युवाको खेलप्रति आकर्षण बढ्ने र उनीहरू अन्य गतिविधिमा लाग्नुभन्दा खेल खेल्न बढी समय खपत गर्नेभएकाले आयोजकलाई धन्यवाद दिनुभयो । 

उहाँले वरिष्ठ पत्रकार राजेश्वर नेपालीको नाउँमा सुरु गरिएको प्रतियोगिताले अगामी दिनमा राष्ट्रिय खेलाडी उत्पादन गर्नमा मद्दत पुगोस् भनेर शुभकामना दिनुभयो । जनकपुरधाम उपमहानगरपालिकाले रङ्गशाला निर्माणका लागि जग्गाको खोजीमा रहेको भन्दै जग्गा प्राप्ति हुनासाथ निमार्णको काम अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा २३ का वडा अध्यक्ष राघबेन्द्र साहले प्रतियोगिताकै बिचमा पत्रकार र जनप्रतिनिधिबिच समेत मैत्रीपूर्ण खेल हुने र विजेता टिमलाई पुरस्कार दिइने जानकारी गराउनुभयो । प्रतियोगिताको उद्घाटन खेल अलिपट्टि र बल्वासरपलो टिमबिच भएको दुधमती युवा क्लबका अध्यक्ष रमेश साहले जानकारी दिनुभयो ।