• १४ मंसिर २०८१, शुक्रबार

अजियाटा ग्रुपका सिइओलाई अर्थ समितिले पत्र काट्नुपर्छ : सांसद वाग्ले

blog

डा.स्वर्णिम वाग्ले । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २० गते। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा ग्रुपका सिइओलाई अर्थ समितिले पत्र काट्नुपर्ने बताउनुभएको छ। 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो माग गर्नुभएको हो। उहाँले अर्थ समितिमा आएर आजियाटा ग्रुपका सिइओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने बताउनुभयो। 

उहाँले आजियाटाका सिइओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु शेयर लगानीकर्ताको हित भएको भनेकाले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको बताउनुभयो। 

उहाँले नेपालको अर्थ राजनीतिक माहौललाई सङ्केत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौती हबला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गर्नु नेपाल राष्ट्रकै छविमा क्षति पुर्‍याउने सम्भावना रहने बताउनुभयो। 

उहाँले देशलाई प्रगतिको बाटोमा लैजाने, आय र रोजगारी विस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहौल बनाउनु पर्ने दस्ताबेजले बोल्ने बताउनुभयो। 

उहाँले निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताउनुभयो। सांसद वाग्लेले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने बताउनुभयो। 

उहाँले वैदेशिक लगानीकर्ता ल्याउन तामझामका साथ कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबैभन्दा ठुलो प्रत्यक्ष लगानीकर्तामध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनु गम्भीर प्रश्नहरू उठाएको बताउनुभयो। उहाँले वर्षको ४० अर्बदेखि ६० अर्ब सम्मको कारोबार गरेको भनेर डकुमेन्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता, कर्मचारीहरू, नीति निर्माता र मिडियालाई समेत वर्षौँदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले नेताका आफन्तजनलाई सिंगापुर घुमाउने पात्रले शेयर खरिद गरेकाले समितिमा उभ्याउनुपर्ने बताउनुभयो।

उहाँले शेयर खरिद बिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने बुझिने दाबी गर्नुभयो। उहाँले आजियाटाका प्रबन्ध निर्देशक, नेपाली मूलका साझेदार, अर्थमन्त्री, लगानी बोर्डका सीईओलगायतलाई समितिले डाक्नुपर्ने वाग्लेको जिकिर थियो।