• ११ मंसिर २०८१, मङ्गलबार

सडकका पात्र अनि प्रवृत्ति

blog

हाम्रो राष्ट्रिय राजनीति लगामबिनाको घोडा जस्तै बन्दै गइरहेको छ । सैद्धान्तिक र वैचारिक पक्ष हराउँदै गएको छ । इमान–जमान, आस्था र विश्वास डगमगाइरहेका छन् । जे पायो त्यही गर्ने र बोल्ने क्रम बढिरहेका छन् । लहड, सनक र झोँक देखाएर आफ्नो स्वार्थ सिद्ध गर्ने सजिलो प्रवृत्ति मौलाइरहेको छ । सामाजिक सञ्जालको स्टन्टबाजी डरलाग्दो गरी बढिरहेको छ । मिडियाबाजी गर्न लजाउनेहरू पछाडि परिरहेका छन् । घोचपेच गरेर बोल्न नजान्नेहरू तल परिरहेका छन् । नकारात्मकताको आवरणमा दुनो सोझ्याउनेहरू बलशाली भइरहेका छन् । उटपट्याङ कुराको बजार भाउ असाध्यै राम्रो देखिन्छ । सन्तुलित र वस्तुवादी बहस तथा छलफलका विषय बिक्नै छाडेका छन् ।

यही मेसोमा राजनीतिक त्याग, बलिदान र सङ्घर्षका कुरा किनारा लागिरहेका छन् । सही, गलतबिच भ्रम सिर्जना भइरहेको छ । तथ्य–तथ्याङ्क मिथ्याङ्क बनिरहेको छ । विधि, प्रक्रिया, मूल्य–मान्यता र संस्कारहरू बिग्रिरहेका छन् । वस्तुवादी लक्ष्य तथा उद्देश्यहरू प्राप्तिमा स्वाभाविक बाटोभन्दा चोर बाटोबाट जाने क्रम बढिरहेको छ । हरेक सामाजिक सम्बन्धहरू सेवाभन्दा पनि व्यवसाय बन्दै गइरहेको छ । जनताको सेवा भन्ने विषयले स्वार्थको फेरो समातेर जँघार तरेर पारी किनारमा पुगिसकेको छ । यस्तो धरातलमा सडकमा देखिनेहरूलाई चर्चाको शिखरमा पु¥याइएको छ । तथ्य र यथार्थमा भन्दा पनि हल्ला र प्रचारमा रमाउने हाम्रो समाज त्यसैको पछि दौडिरहेको छ । सज्जनको वाणी निरीह बन्दै छ भने अराजक वाणी प्यारो भइरहेको छ । आखिर यस्तो किन ? यसै सन्दर्भमा यहाँ चर्चा गरिएको छ ।

अचेल नेपाली समाजमा राजनीतिक नेतृत्व फितलो भइरहेको छ । कुनै पनि समाज हमेसा राजनीतिक नेतृत्व अन्तर्गत दिशानिर्देश भइरहेको हुन्छ । सही राजनीतिले निर्देश गरिरहेको समाज मात्र उचित दिशातर्पm गतिशील ढङ्गले अघि बढ्न सक्छ । मानव समाजलाई प्रगति पथमा अविचलित रूपमा अघि बढाइरहने तत्व भनेको सही राजनीतिक नेतृत्व नै हो । अझ अप्ठ्योरो अवस्थामा झनै राजनीतिक नेतृत्वको आवश्यकता बढी हुन्छ । आज हाम्रो समाजमा कुन राजनीतिक नेतृत्व सही र गलत भन्ने बहस भएको छैन । यहाँ त राजनीतिलाई निरपेक्ष रूपमा निषेध गरिँदै छ । यो गलत तरिका हो किनभने राजनीतिले पैदा गरेको समस्या गैर–राजनीतिक ढङ्गले समाधन हुन सक्दैन । यदि कसैले त्यस्तो कल्पना गर्छ भने त्यो कि त सरासर बनिबनाउ चाहना र सपना मात्र हुन्छ कि त मान्छे दिग्भ्रमित गर्ने चालाबाजी मात्र हो । 

हाम्रो राष्ट्रिय राजनीतिलाई स्पष्ट विचारधारात्मक दृष्टिकोणले नेतृत्व गरिरहेको छैन । यहाँ अग्रगामी, यथास्थितिवादी र पश्चगामीबिच कुनै कित्ताकाट छैन । राजनीतिक वैचारिक रूपमा बहस–छलफल भइरहेको देखिँदैन । अर्थात् यहाँ कम्युनिस्ट, प्रजातन्त्रवादी र पश्चगामीहरू औसत एउटै राजनीतिक लाइनमा छन् । सबैको अन्तिम उद्देश्य भनेको चुनाव जित्ने र बहुमत बनाएर सरकार गठन गर्नेभन्दा उन्नत योजना कसैको छैन । यसरी सबैको लक्ष्य एउटै भएपछि विचार, राजनीति, कार्यदिशा, कार्ययोजना र कार्यक्रममा भिन्न हुने कुरा आउँदैन । सबैको एउटै साझा नारा हुन्छ । त्यो हो जसरी पनि चुनाव जित्ने । यस्तो नीतिले कुनै पनि पार्टी वा नेता कार्यकर्ताहरू नीतिगत आदर्श र मूल्यमान्यतामा अडिन सम्भव हुँदैन । चुनावअघि सबैले यो गर्छु, त्यो गर्छु भन्ने परम्परा छ । अरूले यो गरेन, त्यो गरेन भनेर गाली गर्ने संस्कृति छ । अब मलाई जिताउनु भयो भने कायापलट गर्छु भनेर वाचा गर्ने चलन छ तर चुनाव जितेपछि सबै वाचा बिर्सिने रोग छ । परिणामतः जनता निराश र आक्रोशित हुन पुग्छन् । राजनीतिप्रतिको वितृष्णाले डाँडा काटिसकेको छ । तब विकल्पको पोका बोकेर सडकमा रातारात उदाउँछन् । वास्तविकता अहिले यही भएको हो ।

वस्तुतः कुनै पनि व्यक्ति, वस्तु, सत्ता र संस्था स्थापित हुन लामो सङ्घर्षको प्रक्रिया गुजार्नु पर्छ । कुनै पनि भौतिक वस्तु रातारात विकास हुँदैन । बच्चा जन्मनुलाई पनि नौ महिना पर्खिनु पर्छ । यो शाश्वत जैविक नियम हो तर नेपाली राजनीतिमा पछिल्लो समय कुनै इतिहास र लगानीबिना नै नाटकीय र चामत्कारिक रूपमा केही पात्र स्थापित भइरहेका छन् । हिजोसम्म गुमनाम व्यक्ति आज एकाएक चर्चामा आइरहेका छन् । राजनीतिक आन्दोलन घनीभूत रूपमा अघि बढिरहेको बेला आफ्नो निजी र निहित स्वार्थका लागि डलरको खेती गर्नेहरू आज राजनीतिको मूल प्रवाहमा आफैँ मात्र जान्ने भन्दै कुर्लिरहेका छन् । कतिपयले त हुलहुज्जत गरेर नाम पनि कमाइ सकेका छन् । उपभोगवादी सञ्जालको स्वादमा बहकिएको जनतालाई दिग्भ्रमित पार्न सफल भइरहेका छन् । यस्तो कसरी भइरहेको छ ? यो तपाईं हामी सबैको सरोकारको विषय हो । गम्भीर भएर खोजी गर्ने सवाल हो । 

नेपाली राजनीतिमा विदेशी चलखेल नयाँ होइन । यो पुरातन संस्कृति हो । त्यसमा पनि पछिल्लो समय राष्ट्रिय राजनीति लयमा छैन । गणतन्त्रलगायतका सङ्घर्षबाट स्थापित एजेन्डाहरूलाई तुहाउने दुष्प्रयास भइरहेको छ । यस्तो बेला वैदेशिक हस्तक्षेप र षड्यन्त्र अझ व्यापक हुन सक्छ । यही क्रममा विभिन्न शक्ति न्वारानको बल लगाएर लागिपरेका हुन सक्छन् । उनीहरूलाई नेपाल र नेपाली जनता स्वतन्त्र र स्वाभिमानी ढङ्गले अघि बढेको मन नपर्न सक्छ । अस्थिरता, अन्योल र भद्रगोल उनीहरूको चलखेल गर्ने भरपर्दो आधारहरू हुन सक्छन् । यस कारण उनीहरूका लागि एकता, स्थायित्व र विकास बाधक बन्न सक्छ । अग्रगामी दिशामा अघि बढेकोमा ईष्र्या जागेर आउँछ अनि राजनीतिलाई लयमा ल्याउन नदिन सक्छन् । यसका लागि केही पात्र योजनाबद्ध रूपमा अघि बढाएका पनि हुन सक्छन् । उनीहरू भए कायापलट हुन्छ जस्तो भ्रम छर्नु पनि यही कारण हो भन्न सकिन्छ । 

निश्चित विचार र राजनीतिले नेतृत्व नगरेको समाज राजनीतिक रूपमा सचेत हुँदैन । कुन सही र कुन गलत पनि ठम्याउन सक्दैन । कुन राजनीतिक विचार वा दृष्टिकोणले कहाँ पु¥याउँछ ? यसको उद्देश्य के हो आदि सवालमा न्यूनतम ज्ञान हुँदैन । त्यति मात्र होइन राजनीति के का लागि र राजनीति किन भन्ने आधारभूत सचेतना हुँदैन । उनीहरूलाई राजनीति भनेको हाम्रो उपभोगवादी चाहना पूरा गर्ने साधन हो भन्नेबाहेक अरू ज्ञान हुँदैन । खालि नेताले यो गरेन, त्यो गरेन भन्नेभन्दा उनीहरू माथि उठ्न सक्दैनन् । उनीहरू उपभोगवादी अधिकारहरूको मात्र वकालत गर्छन । सचेत जनताको हैसियतबाट निर्वाह गर्नुपर्ने कर्तव्य र जिम्मेवारीबारे अन्जान हुन्छन् । समस्याको वस्तुवादी समाधनबारे अध्ययन र अनुसन्धान गर्दैनन् । 

अर्थात् उनीहरूलाई राजनीतिले दिशानिर्देश गरिरहेको छैन । उनीहरूलाई पुँजीवादी उपभोगवादी संस्कृतिले नराम्ररी गाँजेको छ । उडिजाने, गुडी जाने, खाइहाल्ने, लाइहाल्ने, मोज गरिहाल्ने अनि स्वाद लिइहाल्ने उपभोगवादी मनोविज्ञान उत्कर्षमा देखिन्छ । सम्भ्रान्त मुलुकको देखासिखी गर्न पाए स्वर्ग पुगेको अनुभूति गर्ने हाम्रै समाज छ । मोजमस्ती गर्न पाए पुग्यो । रमाउन र रमाइलो गर्न पाए भयो । तब ढोङ र आडम्बरले नेटो काट्ने नै भयो । यस्तो बहकिएको र बरालिएको जमातले सचेत र धरातलीय निर्णयहरू गर्दैनन् । वस्तुवादी आकाङ्क्षाहरू राख्दैनन् । उनीहरू नकारात्मकता र गालीगलौजमा रमाउने गर्छन् । यही वस्तुगत भावभूमिमा उनीहरू हल्ला र प्रचारको पछि लाग्छन् । त्यसैले सञ्जालमा उफ्रिने पात्रहरू उनीहरूको पहिलो रोजाइमा पर्नु स्वाभाविक हो । पछिल्लो समय भएको यति हो ।

वस्तुतः नेपाली राष्ट्रिय राजनीतिमा टेको खुस्किएका पक्ष धेरै छन् । सुुधार्नु पर्ने कामकुरा प्रशस्तै छन् । सच्चिनु वा रूपान्तरण हुनुपर्ने आयामहरू अनगिन्ती छन् । गल्ती, कमीकमजोरी मनग्यै छन् । निर्मम आत्मसमीक्षा गर्नुपर्ने सवाल धेरै छन् । आलोचनात्मक विधिबाट कमीकमजोरी पहिल्याउँदै रूपान्तरण गर्नुपर्ने मुद्दाहरू थुप्रै छन् । जनतामा गएर गुमेको विरासत फिर्ता पनि गर्नु छ । प्रणालीमा खोट भए प्रणालीकै विकल्प खोज्नु पर्ने वस्तुगत आवश्यकता पनि खुला हुनु पर्छ । यसका लागि आत्मगत तथा वस्तुगत रूपमा तयार हुनुपर्ने परिस्थितिहरू बन्दै छ । हाम्रो समस्या जहाँ हो समाधान त्यहीँबाट मात्र सम्भव हुन्छ भन्ने न्यूनतम ज्ञान राख्नै पर्छ ।

यसका लागि सही राजनीतिक–वैचारिक दृष्टिकोणको अवलम्बन पहिलो विकल्प हुन सक्छ । राजनीतिक नेतृत्वको विकास दोस्रो विकल्प हुन सक्छ । दल, नेता, तथा कार्यकर्ताहरू रूपान्तरण हुनु तेस्रो विकल्प हुन सक्छ । कूटनीतिक रूपमा वैदेशिक हस्तक्षेपको अन्त्य चौथो विकल्प हुन सक्छ । उपभोगवादी नभएर राजनीतिक रूपमा सचेत नागरिक हुनु पाँचौँ विकल्प हुन सक्छ । सञ्जालमा बहकिनेभन्दा पनि तथ्यमा पुगेर अनि अध्ययन गरेर प्रतिव्रिmया दिने र धारणा बनाउने संस्कृति विकास गर्नु छैटौँ विकल्प हुन सक्छ । राजनीतिले सिर्जना गरेको समस्या उन्नत राजनीतिले मात्रै समाधन गर्न सक्छ भन्ने सार्वभौम तथ्यमा पुग्नु सातौँ विकल्प हुन सक्छ । तसर्थ सामाजिक सञ्जालको भरमा आउनेले केही समय पद, प्रतिष्ठा र शक्ति त प्राप्त गर्लान् तर अहिलेको समस्या समाधानको विकल्प दिन सक्दैनन् । सबैलाई चेतना होस् !  

  

Author

राजेन्द्र किराती