होमराज रानाभाट
अमरापुरी, मङ्सिर १९ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले नेपाल सरकार स्वदेशी उत्पादनको वस्तुलाई सेवामुखी बनाएर रोजगारीलाई बढवा दिन लागेको बताउनुभयो।
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाको वडा नम्बर १७ मा स्थापना सरस बेभरेजस प्रालि (रेडबुल इनर्जी डिक्स) उद्योगको आज उद्घाटन गर्नुहुँदै अर्थमन्त्री डा. महतले सो कुरा बताउनुभएको हो। उहाँले अर्थतन्त्रको मेरुदण्ड भनेको उद्योग कलकारखाना स्थापना गरेर त्यसको प्रवर्द्धनमा लाग्न सकियो भने अर्थतन्त्र मजबुत हुनेमा जोड दिनुभयो।
अर्थमन्त्री डा. महतले मुलुकको राजस्वको आधा हिस्सा उद्योग कलकारखानाबाट आउने राजस्वले धानेको उल्लेख गर्दै उद्योग कलकारखाना निर्बाध रूपमा सञ्चालन गर्न दिनुपर्नै बताउनुभयो। स्वदेशीलाई पहिलो श्रेय दिएर अघि बढाउने हो भने रोजगारीसँगै राजस्वसमेत बढ्ने भएकाले यस्ता उद्योगलाई राज्यले कुनै पनि तरिकाबाट सहयोग गर्ने स्पष्ट पार्नुभयो।
डा. महतले खेतान समूहले स्थापना गरेको सो उद्योग नेपालकै पहिलो रेडबुल इनर्जी डिंक उद्योग भएकाले पनि यस्ता उद्योगले स्थानीयको आवश्यकता परिपूर्ति गर्ने र रोजगारीको अवसर समेत प्रदान गर्ने भएकाले राज्यले यस्ता उद्योगको स्थापनामा महत्त्वपूर्ण सहयोग गर्ने बताउनुभयो।
उहाँले विदेशी आयातलाई रोकेर नेपालको अर्थतन्त्र बलियो बनाउने पहिलो दायित्व हुनुपर्ने बताउनुभयो। उहाँले पर्यटन क्षेत्रमा समेत राम्रो प्रभाव बढ्दै गएको बताउँदै यो क्षेत्रलाई बढवा दिँदै निजी क्षेत्रमा लगानी गर्न दिएर यहाँको उत्पादनलाई बढाउने योजनामा सरकार रहेको बताउनुभयो।
कृषिलाई आधुनिकीकरण गरेर विदेसबाट काम सिकेर फर्किएका युवालाई स्वदेशमा नै रोजगार सिर्जना गर्ने प्रोत्साहनका कार्यक्रम सरकारले ल्याएको उहाँको भनाइ छ।