• १२ असोज २०८१, शनिबार

प्रदेश सभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत

blog

फाइल तस्बिर

विराटनगर, मङ्सिर १९ गते । कोशी प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको छ । 

बैठकले विषयगत समितिका कार्यविधि आफैँ बनाउने सम्बन्धी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन)को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ । उक्त आदेशको प्रस्तावक नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र खगेस्वरी पौडेल समर्थक हुनुहुन्थ्यो ।

शून्य समय

प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा चार महिनापछि पारित भएको बजेटलाई समयमै सम्बन्धित निकायमा पुर्याउन माग गर्नुभयो । प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सभामुखबिहीन प्रदेश सभामा सभामुख चयन गर्ने प्रक्रिया थाल्न सभाको ध्यानाकर्षण गराउनुभयो भने अर्का सदस्य तिलचन पाठकले निषेधको राजनीतिक नगर्न आह्वान गर्नुभयो ।

प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, विदुरकुमार लिंथेप, ज्ञानेन्द्र सुवेदीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । सभामा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र मन्त्रिपरिषदको कार्यविभाजन सम्बन्धी पत्रबारे जानकारी दिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने छ । रासस