• ११ मंसिर २०८१, मङ्गलबार

सोती घटना प्रकरण : बहस सकियो, सम्भवतः आजै फैसला आउने

blog

मुसीकोट नगरपालिका-१ मा रहेको रुकुम जिल्ला अदालत । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर १९ गते । 
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा २०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा बहस सकिएको छ ।

आइतबारबाट रुकुम जिल्ला अदालतमा सुरु भएको सुनुवाइ मङ्गलबार सकिएको हो । जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो ।

रुकुम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले आइतबारदेखि सुरु भएको सुनुवाइ आज सकिएको जानकारी दिनुभयो ।

सोती घटनाको नामले उक्त घटनामा २१ जना कानुन व्यवसायीले बहस गरेका थिए । सूचना अधिकारी कोइरालाका अनुसार सरकारी वकिलसहित १५ जनाले जाहेरीवाला (वादी) को तर्फबाट बहस गरेका थिए भने ६ जनाले प्रतिवादीको तर्फबाट बहस गरेका थिए ।

मङ्गलबार दुवै तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । बहस सकिएसँगै अब उक्त मुद्दा फैसला हुने छ । सम्भवतः आजै मुद्दाको फैसला आउने आङ्कलन गरिएको छ ।

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि ६ जना युवाहरूले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँका मल्ल परिवारकी किशोरीबिचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।  

उक्त घटनामा ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । तर अहिले २३ जना मात्रै रुकुम कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । रुकुम अदालतका अनुसार मुद्दा दर्ता भएका मध्य चार जना रुकुम अदालत, दुई जना उच्च अदालत र पाँच जना सर्वोच्च अदालतको आदेशमा छुटिसकेका छन् ।

पीडित परिवारद्वारा गेटमा निरन्तर धर्ना

पेशी सुनुवाइ तोकिएको अघिल्लो दिनदेखि नै पीडित परिवारहरूले रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिइरहेका छन् । न्यायको माग गर्दै धर्ना दिएको उनीहरूको भनाइ छ । नाराबाजीसहित र्‍याली निकालेर उनीहरूले शनिबार साँझबाट धर्ना सुरु गरेका हुन् ।

‘छोराको हत्या भयो, न्यायको हत्या नहोस्, पीडितलाई न्याय दे’ लगायतका नारासहित उनीहरूले धर्ना दिइरहेका छन् । सो घटनाबारे छानबिन गर्न बनेको संसदीय समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।