काठमाडौं, मङ्सिर १९ गते । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी सचिवालय बैठकले सो निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले आउँदो माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको बताउनुभयो । राष्ट्रिय विधान अनुसार राष्ट्रिय सम्मेलन सम्पन्न हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “पुसको ९ गते स्थायी कमिटीको बैठक, पुस १० गते पोलिटब्युरो कमिटी, पुसको ११ र १२ गते केन्द्रीय कमिटीको बैठक हामी सम्पन्न गर्नेछौँ ।”
उहाँले राष्ट्रिय सम्मेलनमा विधान व्यवस्थाबारे छलफल गर्न कार्यदल गठन भएको बताउनुभयो । यस कार्यदलमा उपाध्यक्ष एवम् सङ्गठन विभाग प्रमुख वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहनुभएको छ ।
यस्तै, राष्ट्रिय सम्मेलन व्यवस्थापनका लागि गङ्गालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
उहाँले राष्ट्रिय महाधिवेशनमा दस्ताबेज मस्यौदासम्बन्धीमा छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको जानकारी दिनुभयो ।