• १२ साउन २०८१, शनिबार

डाँडाकी भगवती ओझेलमा

blog

प्रनिश गिरी 

कुस्मा (पर्वत), मङ्सिर १९ गते । पर्वतमा थुप्रै धार्मिक पर्यटकीय महत्वका मठमन्दिर, देवालय, गुफा र शक्तिपीठ छन् । उचित प्रचारप्रसारको अभावमा कतिपय धार्मिक पर्यटनको सम्भावना बोकेका शक्तिपीठ ओझेलमा परेका छन् । 

डाँडामा रहेको भए पनि प्रसिद्ध बाटुलेचौर कालिका भगवती मन्दिर पनि ओझेलमा परेको छ । कुस्मा नगरपालिका–१२ स्थित सुन्दर र रमणीय स्थल बाटुलेचौरमा अवस्थित बाटुलेचौर कालिका मन्दिरको स्थापना १९५० सालमा गरिएको बताइन्छ । 

स्थानीय सामाजिक व्यक्तित्व कुस्मा–१० निवासी कीर्तिनाथ पौडेल पाध्याले कालिका भगवतीको मन्दिर बनाउनुभएको थियो । सामाजिक व्यक्तित्व पाध्यालाई सपनामा कालिका प्रकट भई मन्दिर स्थापना गरी पूजा गर्न भनेपछि कालिकाको मन्दिर स्थापना गरिएको स्थानीयवासीको भनाइ छ । मन्दिर स्थापनापछि निरन्तर पूजा गरिँदै आएको छ । 

विशेष गरी दसैँको घटस्थापनादेखि नवरात्रिको दिनसम्म देवीको विशेष पूजा हुन्छ । कालिका देवीको पूजा गरेपछि शक्ति प्राप्त हुने र 

मनोकाङ्क्षा पूरा हुने विश्वास बोकेर टाढा टाढाबाट भक्तजन देवीको दर्शन गर्न आउने गरेका छन् । वडाध्यक्ष झलक रिमाल भन्नुहुन्छ, “ऐतिहासिक र धार्मिक पवित्र स्थलमा रहेको कालिका भगवतीको नित्य पूजाआजाका लागि मासिक आठ हजार रुपियाँ तलब दिने गरी वडाले पुजारीको व्यवस्था गरेको छ । खास गरी विजयादशमी, चैत्राष्टमीलगायत विशेष पर्वमा आउने भक्तजनलाई प्रसाद ग्रहणका साथै पूजाआजा व्यवस्थापनका लागि वडाले रकम विनियोजन गर्छ ।” ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थलमा रहेको बाटुलेचौर कालिका मन्दिरको केही समय पहिलेसम्म पूजाआजाको व्यवस्थापन हुन नसक्दा प्रचारप्रसार नभएको वडाध्यक्ष रिमालको तर्क छ । 

अहिले बाटुलेचौर कालिका भगवतीको मन्दिर रहेको स्थान पहिलेदेखि नै धार्मिक र ऐतिहासिक महìव रहेको क्षेत्र हो । पहिले बाटुलेचौरलाई राजा दशरथको यज्ञ स्थल भनी पूजा गरिँदै आएको थियो । राजा दशरथले भान्जा श्रवणकुमारको हत्याको पाप मोचन गर्न बाटुलेचौरमा अश्वमेघ यज्ञ गरेको किंवदन्ती छ । स्थानीयवासीले २०१८ सालमा बाटुलेचौरमा छ महिने कोटिहोम महायज्ञको आयोजना गरेका थिए । उनीहरूले महामारी र प्राकृतिक विपत्ति लामो समय झेल्नु परेपछि यसबाट मुक्ति पाउन भनी १०८ ब्राह्मण पण्डित लगाएर कोटिहोम आयोजना गरेका थिए । 

धार्मिक पर्यटकीय दृष्टिले महत्व बोकेको बाटुलेचौर भगवती मन्दिरको संरक्षण बाटुलेचौर कालिका क्षेत्र विकास समितिले गर्दै आएको छ । समितिका अध्यक्ष गणेश पौडेलले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको कालिका क्षेत्रमा स्थानीयवासीको सहयोगमा १०८ वरपिपलको रुख रोपिएको बताउनुभयो ।